कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
460

जुम्ला-डिजेल प्लान्टबाट जुम्ला सदरमुकाम खलंगामा बत्ती बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्र महत कार्माको पहलमा तत्काल समस्या समधानका लागि ल्याइएकोे डिजेल प्लान्टबाट खलंगाको मंगरबाट बत्ती बलेको हो ।
नयाँ मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाम डेढ महिना अन्धकारमा थियो । विगत नौ महिनादेखि खलंगाका उपभोक्ताले दैनिक २० घण्टा लोडसेडिङको मारखेपेका थिए । जुम्लामा बत्ती बाल्न विभिन्न चरणका आन्दोलन भइरहँदा पनि सुनुवाइ नगरेको उपभोक्ता समितिले अन्ततः डिजेल प्लान्टबाट बत्ती दिएको छ । साना जलविद्युत् उपभोक्ता समितिले डिजेल प्लान्ट मेसिन भित्र्याएको एक साताभित्रै खलंगामा बत्ती बलेको हो ।

साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाका अनुसार डिजेल प्लान्टबाट दैनिक १२ घण्टा विद्युत् सप्लाई गरिने भएको छ । नयाँ मेसिन जडानको जिम्मा लिएको भारतीय कम्पन्नीको ठेकेदारले बीचमै बेरिङ भाँचिएपछि भागेर गएपछि पूर्णरूपमा खलंगामा विद्युत् अवरुद्ध थियो ।
मेसिन खरिदका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण कम्पनीले एक करोड ८६ लाख ८५ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ । तर मेसिन कहिले बन्ने कुनै जानकारी छैन ।
खलंगा अन्धकार भएकै बेला सांसद महत खलंगामा आएकोले तत्कालीन समस्या समधान भएको हो । सांसद विकास कोषका २४ लाख ६० हजार रकम खर्च गरी डिजेल प्लान्ट ल्याइएको हो । १ सय ६० किलोवाट क्षमताको डिजेल प्लान्टबाट दैनिक १२ घण्टा विद्युत् आउने भएको छ ।