कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
512

तम्घास- गुल्मी जिल्लामा मकै जोन कार्यक्रम लागू भएसँगै मकै अध्ययन तथा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीको आर्थिक एवं व्यवस्थापकीय सहयोगमा जिल्लामा पहिलोपटक उक्त केन्द्र स्थापना गरिएको हो ।
मकैको अतिरिक्त समग्र कृषिसँग उन्नत प्रविधिको प्रसार एवं प्रविधि अनुसरणमा सहयोग पु¥याउने उद्देश्यअनुरुप उक्त अध्ययन तथा प्रविधि केन्द्र स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीका प्रमुख कुलप्रसाद दवाडीले बताए ।

मकैको अध्ययन एवं सूचना प्रविधिको स्थापनाले मकै जोन सञ्चालक समिति र त्यससँग आबद्ध कृषक समूह सहकारीका सदस्यलाई मकैको विविध विषयका पुस्तक र इमेल इन्टरनेटको माध्यमबाट प्रकाशित तथा प्रसारित सामाग्रीको अध्ययन तथा अवलोकन गरी प्रविधि अनुसरणमा सहज पुग्ने बताइएको छ । सूचना अध्ययन केन्द्रमा विभिन्न प्रकारका १५० भन्दाबढी पुस्तक एवं पत्रपत्रिका उपलब्ध रहेका छन् ।
सञ्चालक समितिका पदाधिकारीका अतिरिक्त अगुवा एवं प्रविधिमैत्री कृषकका लागि इमेल इन्टरनेटको प्रयोगबाट नयाँनयाँ प्रविधिको अध्ययन गर्न सहज होस् भनी कम्प्युटरसहितको अध्ययन सामग्रीको व्यवस्थापन गरिएको छ । कृषकका लागि प्रत्यक्षरुपमा सामग्री हेर्न र त्यसलाई प्रयोग गर्नका लागि उनीहरुमा थप आत्मविश्वास बढोस् भन्ने उद्देश्यले विशेष गरी मकैखेतीमा प्रयोग हुने जोत्नका लागि मिनी ट्रिलर, रोप्नका लागि ज्याब प्लाण्टर, सिड ड्रिल, कर्न सेलर, मेज सेलर, खेत हिल्याउन प्रयोग हुने प्याडीह्वीललगायत यन्त्र औजारसमेत अध्ययन तथा सूचना प्रविधि केन्द्रमा राखिएका छन् ।
मकै जोन सञ्चालक समितिका संयोजक लोकबहादुर कुँवरका अनुसार मकै अध्ययन केन्द्रमा उपलब्ध सेवा एवं सुविधाका कारण कृषकमा यान्त्रीकरणमा आत्मविश्वास बढ्दै गएको बताए । यो कार्यक्रमले यान्त्रीकरणको प्रवद्र्धनसँगै किसानको उत्पादन लागत घटाउनमा थप सहयोग पुग्ने उनले बताए । अध्ययन एवं सूचना प्रविधि केन्द्र स्थापनाका कारण मकै जोनमा आबद्ध किसानले इमेल इन्टरनेटको प्रयोगबाट उत्पादनको नयाँनयाँ प्रविधिका बारेमा जानकारी लिन र बालीनालीमा देखिने समस्या खोजेर समाधान गर्न सक्षम हुने अपेक्षा गरिएको मकै जोनका सञ्चालक समिति सचिव शेरबहादुर कुँवरले बताए ।