कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
427

बाँकेको खजुरा गाउँपालिकालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । कृषि र सहरलाई हरित बनाउन ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्ट सञ्चालनका लागि गतवर्ष खजुरा गाउँपालिकाले संयुक्त राष्ट्र संघअन्तर्गतको चाइना इन्स्टिच्युट फर साउथ को–अपरेसन इन एग्रिकल्चरमा प्रस्तावनापत्र पेश गरेको थियो । उक्त प्रस्तावना उत्कृष्ट भएसँगै चिनियाँ समूहले खजुरा अवलोकन गरेर फर्केको थियो ।
त्यस लगत्तै खजुरा गाउँपालिकाले उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन इकोनोमी कार्यक्रममा भाग लिने अवसर प्राप्त ग-यो । कार्यक्रममा सहभागी हुन गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपती पुगेका थिए । मंगलबार सोही कार्यक्रममा अध्यक्ष कक्षपति र युएन प्रमुखबीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको छ ।

हरित कृषि र हरित सहरीकरणका लागि सञ्चालन हुने पाइलट प्रोजेक्ट सन् २०२० देखि सुरु हुने बताइएको छ । गाउँपालिका प्रमुख कक्षपतीले प्रोजेक्टको लागत यसको मोडालिटीलगायतका विषयमा पनि छलफल गरेर टुंगो लगाइने बताए
कृषि तथा हरित खजुराका लागि भएको सम्झौतापछि प्रतिक्रिया दिँदै विज्ञ सदस्य पूर्णचन्द्र उपाध्यायले खजुराबासीका लागि मात्र नभई देशकै लागि नमूना र उदाहरणीय काम भएको भन्दै कृषिमा दिगो विकासका लागि नमूना हुने बताए ।
कार्यक्रम सञ्चालनका लागि २ अर्बसम्म लगानी लाग्ने अनुमान गरिए पनि त्यसको विस्तृत विवरण तयार हुन सकेको छैन । गाउँपालिकाले कृषि सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । दिगो विकास लक्ष्य पु-याउन खजुरामा हुने पाइलट प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र सहरीकरण प्रोजेक्ट लागू भएपछि खजुरा संसारभरीकै रिसर्च सेन्टरका रूपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट, खजुरा कृषि क्याम्पसको सपना पूरा हुने बताए । कार्यक्रम लागू भएपछि खजुराको वातावरण स्वच्छता हुनुका साथै आधुनिक कृषि प्रणाली लागू भएर कृषि उपजको उत्पादकत्वमा वृद्धि भएर स्थानीयको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।
पाइलट प्रोजेक्ट सञ्चालनपछि दक्ष कृषि प्राविधिकको उत्पादन हुनुका साथै त्यसका लागि यहाँका कृषकलाई प्रशिक्षणका लागि चीन पठाउने अवसर प्राप्त हुने छ भने कृषिका साथ साथै त्यसका लागि सडक, बिजुली लगायतका पूर्वाधार निर्माणका कामसमेत हुने छन् ।