अमरराज आचार्य
बिहिवार, असार २६, २०७६
402

दाङ-राजपुर गाउँपालिकाले आगामी आव ०७६-७७ का लागि सडक निर्माणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले ल्याएको आव ०७६-७७ को नीति कार्यक्रममा यस्तो उल्लेख गरेको छ ।
गाउँपालिकाले सडक सञ्जालले जोडनका लागि सडक निर्माणकार्यलाई प्राथमिकता दिएको जनाएको छ । राजपुर गाउँपालिका भौगोलिक रूपमा विकट छ । गाउँपालिकाका सबै क्षेत्रमा सडकको पहुँच पुग्न नसकेकाले सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए । “सडक पु-याएपछि अन्य विकास गर्न सजिलो हुने विश्वास लिएका छौं,” अध्यक्ष केसीले भने । अन्य विकास निर्माणका काम गर्नेका लागि पनि सामग्री लैजानका लागि सडक नहुँदा समस्या हुने उनको भनाइ छ । “हामी निर्वाचित भएदेखि नै सीमासम्म सडक पु-याउन विशेष प्राथमिकता दिएका छौं,” अध्यक्ष केसीले भने । सीमासम्म सडक नहँुदा सीमावासी दैनिक उपभोग्य सामग्री किन्न तथा बिरामी हुँदासमेत भारतीय बजारमा जाने गरेका छन् ।

नेपाली भए पनि उनीहरू पूर्णरूपमा भारतमा भर पर्नुपर्ने बाध्यता छ । गाउँपालिकाले विगतको अभ्यासमा रहेको टुक्रे योजनामा बजेट विनियोजनको अभ्यासलाई अन्त्य गर्दै पूर्वाधार विकासमा केही ठूला र विशेष महत्वका योजना सञ्चालनमा ल्याउने अध्यक्ष केसीको भनाइ छ । सीमा क्षेत्र गाउँपालिकाको मूलधारमा जोडन सीमा जोड्ने सडकहरूको निर्माण र स्तरोन्नति कार्यलाई उच्च प्राथमिकता दिएको बताए । राजपुर गाउँपालिकाको दक्षिण सिमाना भारतसँग जोडिएको हुँदा सामरिक रूपमा समेत विशेष महत्व राख्ने गढवा गाउँपालिकाको कोइलावासदेखि पश्चिम भौवानाका जोडने सीमा सडक विशेष महत्वका साथ अगाडि बढाइने भएको छ । यसका लागि आफ्नो स्रोतबाट अपुग हुने रकम संघीय सरकार, प्रदेश सरकारसँग आवश्यक समन्वय गरी स्रोत भित्र्याई निर्माणकार्यलाई तीव्रता दिइने गाउँपालिकाले जनाएको छ । रिहार–गंगदी पक्की पुल, राजपुर–चिसापानी झोलुंगे पुल तथा राताकाँस–तरुले पक्की पुल गोठुवा–भमबाँधमा पक्की पुल निर्माणका लागि डीपीआर गरी निर्माणका लागी संघीय सरकारसँग माग गरिने छ ।
त्यसैगरी गाउँपालिकालाई उज्यालो गाउँपालिकाको रूपमा विकास गर्ने विभिन्न स्थानमा विद्युत् विस्तार कार्यलाई उच्च महत्वका साथ अगाडि बढाएको अध्यक्ष केसीले बताए । यसमा आफ्नो स्रोतबाट अपुग हुने स्थानमा नेपाल विद्युत् प्राधिकरण, संघीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर स्रोत भित्र्याई ग्रामीण विद्युतीकरणलाई तीव्रता दिइने उनको भनाइ छ ।
सीमा क्षेत्रमा सहज सञ्चार पहुँच स्थापना गर्न सम्बन्धित निकायसँगको सहकार्यमा रिपिटर टावर स्थापना कार्यलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पु-याउन प्राथमिकता दिइने भएको छ । हाल गाडिएका तर मोटर तथा विद्युत् लाइन जडान नभई प्रयोगमा ल्याउन नसकिएका स्यालोट्युबेल तथा बोरिङको अपूरो कार्यलाई पूर्णता दिई सञ्चालनमा ल्याउनुका साथै सञ्चालनमा रहेका कुलो मर्मत सम्भार गरिने उल्लेख गरिएको छ । घरघरमा खानेपानीको उचित व्यवस्थापन गर्न प्रत्येक बस्ती र गाउँमा इनारको उचित प्रबन्ध गरिने छ ।
पर्यटनलाई आर्थिक स्रोतका रूपमा समेत स्थापित गर्न पर्यटन पूर्वाधार विकासमा समेत जोड दिइने भएको छ । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी अगाडि बढ्ने नीति लिएको छ । गाउँपालिकामा रहेका कठबेरुवा पिकनिक स्पोर्ट, मयुर ताल, सुन्छहरी झरनाको विकासमा समेत प्राथमिकता दिएको छ । सिरवा ताल, बतासे डाडामा राजपुर गाऊपालिकाको पहिचान झल्काउने भ्युटावर निर्माणका लागि डीपीआरको काम अगाडि बढाइने छ । कृषियोग्य जमिनलाई खण्डीकरण गर्ने बाँझो छोड्ने प्रवृत्तिलाई निरुसाहित गरिने भएको छ ।