कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
377

म्याग्दी-प्रभावित क्षेत्रका अगुवाहरूले बेनी–कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिले सुझाव दिएका हुन् ।
विभागले जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बेनी, बगरफाँट, पर्वत बेनी, लामाखेल र आसपासका बस्तीको वातावरणमा प्रतिकूल असर पार्ने खतरा भएकाले बाँधस्थल परिवर्तन गर्न माग गरेका हुन् ।

कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धि हुने, खानेपानी र सिँचाइको स्रोत सुक्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिब डेढ किलोमिटर माथि बाँध बनाउँदा उपयुक्त हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । “रघुगंगा र कालीगण्डकीको दोभानभन्दा माथि बाँध बनाउँदा क्षमता पनि बढ्ने र वातावरणीय हिसाबले पनि उपयुक्त हुने देखिन्छ,” बेनीका हरिकृष्ण श्रेष्ठले भने ।
गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका–२ को सिमानामा बाँध निर्माण गरी ३ हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला–४ मा पर्ने शेराफाँटमा रहने विद्युत्गृहमा खसालेर विद्युत निकालिने विभागका इञ्जिनियर सविन भण्डारीले बताए ।
तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । ८ अर्ब २० करोड ७ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको तयारीमा रहेको विभागका समाजशास्त्री पंकज पोखरेलले बताए ।
यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । जिसस पर्वतका प्रमुख मनोहर बी पौडेल, म्याग्दीका प्रमुख देवेन्द्र कटुवाल, पूर्व सांसद नवराज शर्मा, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी लगायतले स्थानीयको चाहना र भावनाअनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने गरेर काम गर्न सुझाव दिए ।
जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, वडा अध्यक्षहरू गोविन्द खत्री र रवी भण्डारीले वातावरणीय जोखिम र असर न्यूनीकरण हुने गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्ने बताए । उनीहरूले बाँधकै कारणले आयोजनालाई फिर्ता पठाउन नहुने बताए ।
विभागका सामाजिक अर्थविज्ञ भरतमणी शर्माले जलविद्युत् आयोजनाको सुरुङमा कालीगण्डकीको पानी लैजाँदा तापक्रममा असर नपुग्ने भन्दै बेनीमा म्याग्दी नदी पनि मिसिने, खानेपानी र सिँचाइ आयोजनालाई असर नपुग्ने गरेर १० प्रतिशत पानी छाडेर विद्युत्मा प्रयोग गरिने भएकाले वातावरणमा असर नपुग्ने जानकारी गराए ।