कारोबार संवाददाता
सोमवार, असार १६, २०७६
364

भूकम्पपछिको पुर्ननिर्माणमा संलग्न १९ प्राविधिक गैरकानुनी काम गरेको आरोपमा कारबाहीमा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका प्राविधिकहरू विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएको भन्दै कारबाही गरेको हो ।
भूकम्पपीडितबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूकम्प पीडितहरूलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेकोलगायतका कारणले उनीहरूमाथि कारबाही भएको हो । यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरू पालना नगरेका लगायतका कारण उनीहरूलाई कारबाही गरिएको प्राधिकरण सह–प्रवक्ता मनोहरि घिमिरेले जानकारी दिए । उनका अनुसार ती प्राविधिकहरूको करार सम्झौता भंग गरिएको छ ।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिङमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् ।
प्राधिकरणका अनुसार, कारबाही पर्नेमा नुवाकोटमा कार्यरत मात्र ७ इन्जिनियर छन् । कारबाही पर्ने इन्जिनियरिहरूमा नुवाकोट किस्पाङ–३ इन्जिनियर बसन्त घिमिरे, किस्पाङ–५ कै शेषनारायण भण्डारी, लिखु–३ का धु्रवराज खरेल, मेघाङ–५ का रामजी श्रेष्ठ, तादी–४ का रिजन अगन्जा, तादी–५ का शेखर झा र पञ्चकन्या–१ का राधाकान्त प्रसाद शाह छन् । त्यसैगरी सिन्धुपाल्चोक इन्द्रवाती–१२ मा कार्यरत इन्जिनियर सविन पुडासैनी, दोलखाको गौरीशंखर–१ र २ मा कार्यरत इन्जिनियर सागर घिसिङ, सोही जिल्ला मैलुङ–४ मा कार्यरत इन्जिनियर सुरेश शाह, भोजपुरमा कार्यरत इन्जिनियर सुरेन्द्रकुमार मण्डल र सोलुखुम्बुको नेचासल्यानमा कार्यरत आशुतोष जोशी छन् ।
मण्डलले भने हस्ताक्षर किर्ते गरेको प्राधिकरणले जनाएको छ । त्यसैगरी सबइन्जिनियरहरूमा नुवाकोटको ककनी–४ मा कार्यरत नवराज शर्मा चापागाई, धादिङको त्रिपुरासुन्दरी–१ मा कार्यरत नरदीप शाही, सिन्धुपाल्चोकमा कार्यरत वीरेन्द्र रोकाय छन् । त्यसैगरी काभ्रेको रोशी–२ मा कार्यरत मुक्तिप्रसाद रेग्मी र रोशी–११ मा कार्यरत दिपेन्द्रकुमार मण्डल छन् । त्यसैगरी काभ्रेको महाभारत–२ मा कार्यरत असिसटेन्ट सबइन्जिनियर भीमबहादुर भट्ट, धादिङ त्रिपुरासुन्दरी–१ मा कार्यरत दुर्गानन्द राम छन् ।