कारोबार संवाददाता
आइतवार, असार १५, २०७६
322

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघ सरकारले फेवातालको सिमांकन टुंग्याएको भोलिपल्ट प्रदेश सरकारले पिल्लर गाड्न सुरु गर्ने बताएका छन् । नेपाली खाना प्रवद्र्धनात्मक कार्यक्रमको शुक्रबार साँझ उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण गर्ने विषयमा पहिलो काम तालको सिमांकन भएकोले संघ सरकारले सीमाको विवाद टुंग्याउनुपर्ने बताए ।
उनले भने। “फेवाताल संरक्षण गर्न पहिलो काम तालको सिमांकन गनु पर्छ । त्योसँगै अतिक्रमणको क्रममा व्यक्तिका लालपुर्जा भएकाहरुको लागि उचित मुआब्जाको व्यवस्था गर्नुपर्छ । व्यक्तिगत सम्पत्तिको संरक्षण गर्ने हाम्रो नीति नै छ ।”

फेवाताल संरक्षणको लागि रकमको चिन्ता नलिन आग्रह गर्दै मुख्यमन्त्री गुरुङले भने, “पोखरामा पर्यटकको बसाइ अवधि लम्बिने प्याकेज ल्याउनुहोस्, त्यसमा हामीले के गर्न सकिन्छ, तयार छौं । प्रदेश सरकारले पर्यटन क्षेत्रमा कम लगानी ग-यो भन्दै यतिबेला हामी आलोचित भएका छौं । अघिल्लो वर्ष हामीले खर्च गर्न नसकिने योजनाहरुमा बजेट विनियोजन गर्दा धेरै खर्च गर्न सकेनौं । आगामी वर्ष त्यसो नहोस् भन्नको लागि हामीले खर्च हुने ठाउँमै बजेट विनियोजन गरेका हौं ।”
गण्डकी प्रदेशका सांसद राजिव पहारीले पोखरा क्षेत्रमा हाल पर्यटकको बसाइ अवधि साढे एक दिनमात्र भएको बताए । रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जिवी पोख्रेललगायतले पोखराको पर्यटन प्रवद्र्धनमा धेरै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।