अमरराज आचार्य
आइतवार, असार १५, २०७६
353

दाङ–सुर्खेत सडकखण्ड स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । २२ वर्षदेखि ओझेलमा पर्दै आएको ६२ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको हो । दाङको समृद्धिको रूपमा लिइएको सो सडकको कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
चार प्याकेजमा काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर छितिज पोखरेलले जानकारी दिइन् । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्यासीप जेभीले दुई प्याकेजको काम सकेको छ । अरु दुई प्याकेजको काम पनि करिव ४० प्रतिसत सम्पन्न भएको इन्जिनियर पोख्रेलले बताइन् । दाङको तुलसीपुरदेखि हापुरेसम्म सडक कालोपत्रे भइसकेको छ । यसको म्याद २०७७ सम्म रहेको थियो । त्यस्तै हापुरेदेखि सल्यानको एक्ले वरसम्म सडक कालोपेत्रका लागि ग्राभेलको काम सम्पन्न भएको छ । त्यस्तै कालीमाटीदेखि सुर्खेतको सिमाना काल्चेसम्म पनि बाटो कटिङ र सम्याउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडक कालोपत्रे गर्ने म्याद २०७८ सम्म रहेको छ । विभिन्न चार प्याकेजमा करिव ८५ करोडको लागतमा स्तरोन्नतिको काम सुरु भएको इन्जिनियर पोख्रेलले जानकारी दिइन् । दाङदेखि सुर्खेतको बोटेचौरसम्म ७८ किलोमिटर बाटो निर्माण भएसँगै दाङबाट सुर्खेत जान नेपालगन्जबाटभन्दा ६५ किलोमिटर बाटो छोटो हुने छ ।

“काममा कुनै अवरोध नभए सम्भवतः एक-डेढ वर्षमा सबै काम सम्पन्न हुने छ,” इन्जिनियर पोख्रेलले भनिन् । दाङ, सल्यान र सुर्खेत गरी करिव ६२ किलोमिटर बाटो कालोपत्रे भए सुर्खेतको बोटेचौरसम्म ४ घण्टामै पुग्न सकिने छ । सडक स्तरोन्नति भए यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने छ ।
निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतिक्षामा रहेका पश्चिम दाङवासी खुसी भएका छन् । यो सडक पछिल्लो समयमा प्रदेश नं. ५ र कर्णालीलाई जोड्ने लिंकरोडको रूपमा चिनिन्छ । सडक स्तरोन्नतसँगै पश्चिम दाङका बजार पनि भरिँदैछन् । यो सडकका कारण अब कर्णालीसँग सिधा सम्पर्क हुने स्थानीय बताउँछन् । “दाङको विकासमा यो सडक कोसेढुंगा सावित हुने छ,” स्थानीय कृष्णकुमार गिरीले भने ।