कारोबार संवाददाता
आइतवार, असार १५, २०७६
1010

म्याग्दी-नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु भएको छ । ४० मेगावाट क्षमताको आयोजनामा नेपाली सेना र प्रहरीको सहयोगमा अडिट–३ को सुरुङमा ब्लास्टिङ गर्दै निर्माण सुरु गरिएको हो ।
भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण लगानीमा निर्माण हुन लागेको जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार र सडक निर्माणसँगै ६ हजार २ सय मिटरको सुरुङ निर्माण सुरु गरिएको हो । मुख्य सुरुङमा जाने अडिट ३ ब्लास्टिङ गर्दै सुरुङ निर्माण कार्य सुरु गरिएको रघुगंगा हाईड्रो लिमिटेडका उपप्रबन्धक पवन बस्नेतले जानकारी दिए ।

२०७४ मंसिर ५ गते सम्झौता गरेर २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालित ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले एक वर्षको अवधिमा पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तिलगायतका काम गरेको रघुगंगा हाइड्रो लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले बताए । ठेक्का लिएको जयप्रकाश एसोसियट्स कम्पनीका साइड ईन्चार्ज आरके श्रीवास्तवले १ हजार २ सय जनशक्ति परिचालन गरेर अडिट ३ र ४ को सुरुङ निर्माण तथा पावर पेन स्टक निर्माण भइरहेको बताए ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यो आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ८ अर्ब ५९ करोड रूपैयाँ अनुमान गरिएको छ । आईभीआरसीयलले २ अर्ब ७९ करोड ७८ लाख रूपैयाँमा सिभिल, सुरुङ, ठेक्का सडक, विद्युत् गृह र बाँध निर्माण गर्ने सम्झौता गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको वैठकले ३२ मेगावाट क्षमतालाई बढाएर ४० मेगावाट क्षमता भएको आयोजनाको लागत ८ अर्ब ६० करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ । २०६७ सालदेखि निर्माण सुरु भएको राहुघाटमा ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै काम नगरेपछि २०७३ सालमा प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो ।
अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

धिरन खत्री