कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
275

नेपालका विभिन्न जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ कम्पनीहरूबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होउ यान्छीबीच समीक्षा भएको छ ।
ऊर्जामन्त्री पुनलाई भेट्न मंगलबार मन्त्रालय पुगेकी राजदूत होउले चिनियाँ कम्पनीले निर्माण गरिरहेका आयोजनामा देखिएको ढिलाइ र यसमा देखिएका समस्याबारे समीक्षा गरेकी हुन् । ऊर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काका अनुसार चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिका कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याका बारेमा जानकारी दिँदै त्यसवारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताएकी थिइन् ।

मन्त्री पुनले पनि ढिलाइ हुने कारण थाहा पाएर त्यसको प्रणाली सुधारका आफूहरू लाग्ने भन्दै चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली–३ ए जलविद्युत् आयोजना र कुलेखानी जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेकाले समयमै आयोजना सम्पन्न गर्न समन्वय गरिदिन आग्रह गरेका थिए । उनले दूधकोशी जलविद्युत् आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्न थप २ खर्ब अपुग भएकाले चिनियाँ सहयोगका लागि पहल गरिदिन आग्रह गरे ।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिँदै नेपालको जलविद्युत् क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले २४ वटा आयोजनामा लगानी गरेकोसमेत जानकारी दिइन् । चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाइ थियो ।
भेटमा मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र वजार विस्तार गर्न पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई पनि नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गरेका थिए ।