कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
283

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सिंह दरबारको सांसद भवनको झल्को दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसले स्थानीय सरकारको झल्को पनि दिएको छ ।
गाउँपालिकाकाले यस वर्ष खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नेे गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे । पहिलो वर्ष खरका छाना मुक्त पालिका बनाएको गाउँपालिकाले गत वर्ष विद्युत् वर्षको रूपमा नीति तथा कार्यक्रम अगाडि सारेको थियो ।

यस वर्ष भने खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको छ । एक घर एक धारा बनाउने गरी खानेपानीलाई प्राथमिकतामा राखेको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाउँमै एमबीबीएस डाक्टरको उपस्थितिमा गरिने निःशुल्क स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको छ । दलित घर उज्यालो कार्यक्रम तथा बोयर बाख्रा हबको रूपमा गाउँपालिकालाई विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पालिकाले बढ्दो बसाइँ सराइ नियन्त्रण गर्न पर्खनोस् हामी तपाईंको लागि केही गर्दैछौं भन्ने अभियान सञ्चालन गर्ने भएको छ । पालिकाले कृषि पशुपालनलाई पनि प्राथमिकतामा राखेको छ । बँदेल र बाँदर आतंकलाई नियन्त्रण गर्न योजना अगाडि सारेको छ ।
गाउँपालिकामा कागतीको पकेट क्षेत्र बनाउने कार्य अगाडि सारेकोलगायतका ८४ बुदे नीति तथा कार्यक्रम अध्यक्ष पोख्रेलले प्रस्तुत गरे । अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सभाका ४ जना सदस्यले सुझाव राखेका थिए । सुझाब राखिसकेपछि अध्यक्ष पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न र तटस्थ बस्नेले तटस्थ बस्न आग्रह गरे । हेर्दा लाग्थ्यो केन्द्रीय सांसद भवनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम ।