केशव समर्पण
बुधवार, जेठ ८, २०७६
582

साबुन–स्याम्पुलगायतका सामग्री उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हेटौंडामा रहेका दुई उद्योगसँग एकपक्षीय सम्झौता भंग गर्दा सयौं मजदुरको रोजगारी खोसिएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गंगा सोप र युनिक सोपसँग भएको सम्झौता एकपक्षीय रूपमा भंग गरी उद्योग बन्द गर्दा करिब ५ सय मजदुरको बिचल्ली भएको हो ।
युनिलिभरसँग युनिक सोपले साबुन र सर्फ उत्पादनका लागि र गंगा सोपले क्लिनिक प्लस र सनसिल्क स्याम्पु उत्पादनका लागि तेस्रोपक्षीय सम्झौता गरेको थियो । १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको युनिक सोप ६ महिनाअघिदेखि बन्द छ भने गंगा सोप २ महिनादेखि बन्द छ । युनिलिभरले एकपक्षीय रूपमा दुवै उद्योगसँगको सम्झौता तोडेपछि उद्योग बन्द भएको हो । दुवै उद्योग स्थायी, करार र ज्यालादारीका गरी करिब ५ सय मजदुर अहिले कामविहीन भएका छन् । उद्योग बन्द भएसँगै उनीहरूले अन्य रोजगारी वा उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् । तर, युनिलिभर यस विषयमा मौन रहँदा मजदुरले आन्दोलनको घोषणा नै गरेका छन् ।

युनिलिभरले एकपक्षीय रूपमा सम्झौता भंग गरेसँगै गंगा सोपका सञ्चालक ईन्द्रबहादुर बानियाँ र युनिक सोपका सञ्चालक नवराज अर्यालले मजदुरको व्यवस्थापनका लागि पटकपटक युनिलिभरलाई आग्रह गर्दा पनि सुनुवाइ भएको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत छलफलका लागि पटक–पटक बोलावट भए पनि युनिलिभरले अटेर गरेको नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठले बताए । नेपाली उद्योगसँग एकपक्षीय सम्झौता भंग गरी युनिलिभरले भारतीय लगानीमा सञ्चालित आरएम केमिकललाई साबुन र सर्फ उत्पादनको जिम्मा दिइएको भन्दै श्रेष्ठले आपत्ति जनाए ।
उद्योग बन्द गराई मजदुरलाई बिचल्ली बनाएको भन्दै मकवानपुरका तीन प्रमुख मजदुर संगठनले युनिलिभरविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले युनिलिभरलाई ७ दिनको अल्टिमेटम दिएको जनाएका छन् । मजदुरहरूले युनिलिभरलाई तीन वटा विकल्प दिएका छन् । सकभर बन्द उद्योग पुनः सञ्चालन गर्ने या नसकिएमा युनिलिभरमै रोजगारी दिने व्यवस्था मिलाउने उनीहरूले माग गरेका छन् । ती दुवै विकल्प नमान्ने हो भने मजदुरहरूलाई उचित क्षतिपूर्ति दिई बिदाई गरिनुपर्ने मजदुर संगठनहरूले माग गरेका छन् ।
आफूहरूको माग पूरा नभए जेठ १३ गतेदेखि हेटौंडा बसामाडीमा रहेको युनिलिभर नेपालको गेटमा धर्ना तथा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेतासमेत रहेका गंगा सोपका सञ्चालक ईन्द्रबहादुर बानियाँले बहुराष्ट्रिय कम्पनीेले नेपाली उद्योगीलाई हेप्ने काम गरेको भन्दै आपति जनाए । १३ वर्षदेखि सम्झौता गरी निरन्तर चलिरहेको उद्योगसँग एकपक्षीय रूपमा सम्झौता भंग गरी मजदुरको बिचल्ली पार्ने काम गरिएको भन्दै उनले आपत्ति जनाए । मजदुरलाई युनिलिभरले दिनुपर्ने एक करोडभन्दा बढी तलब भत्ता उपलब्ध नगराए पनि आफैंले तिर्नु परेको पनि उनले सुनाए ।
उद्योग संघ हेटौंडाका अध्यक्षसमेत रहेका युनिक सोपका सञ्चालक नवराज अर्यालले एकपक्षीय रूपमा सम्झौता भंग गरी अर्को उद्योगलाई उत्पादनको जिम्मा दिनु आपत्तिजनक भएको बताए । “सम्झौता रद्द गर्ने परे नियम कानुन र प्रक्रियाबाट मजदुरको समेत समस्या समाधान गरी गर्नुपर्ने थियो । तर, युनिलिभरले यसको पालना गरेन,” अर्यालले भने ।