कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
333

अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक एवं एसिया प्रशान्त क्षेत्रीय निर्देशक तोमोको निसिमोतोले श्रम बजारको आवश्यकताअनुसार व्यावसायिक सीप र ज्ञान भएको जनशक्तिको उत्पादनमा जोड दिनुपर्र्ने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणास“ग नेपाल भ्रमणमा हरेकी निसिमोतोले मंगलबार महासंघ सचिवालयमा भेटवार्ताका क्रममा सो कुरा बताएकी हुन् ।
सो अवसरमा महासंघका अध्यक्ष राणाले क्षेत्रीय निर्देशक निसिमोतोको स्वागत गर्दै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराइन् । नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष राणाले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सरकार र ट्रेड युनियनसँगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताइन् । आईएलओमार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह पनि गरिन् ।

उक्त अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता परिषद्ले आइएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे जानकारी दिँदै सातवटै प्रदेशमा कार्यक्रम सञ्चालन गरिरहेको र प्रदेशमा श्रमसम्बन्धी थप कार्यक्रम गर्न प्रदेश कार्यालयको क्षमता विकास आवश्यक भएकोले यसतर्फ आइएलओको सहयोग महत्वपूर्ण हुने बताए ।
सहायक महानिर्देशक निसिमोतोले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भइरहेका प्रयास वारे जिज्ञासा राख्दै विश्वमा द्रुत गतिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् । साथै श्रम बजारको आवश्यकताअनुसार व्यावसायिक सीप र ज्ञान भएको जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने उनको सुझाव थियो ।