भीम गौतम
आइतवार, माघ ७, २०७४
1741

तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । २०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परीक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । “शुक्रबारसम्म परीक्षण उत्पादन भएकोमा शनिबारदेखि १५ मेगावाटको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,” आयोजना प्रमुख अजय दाहालले भने, “१५ मेगावाटको दोस्रो युनिटको परीक्षण उत्पादन आइतबारदेखि हुँदैछ ।” उनका अनुसार, पहिलो युनिटबाट १५ मेगावाट उत्पादन भइरहेको छ भने दोस्रो युनिटको परीक्षण उत्पादनपछि दुवैको लोड रिजेक्सन र इफिसिएन्सी परीक्षण हुनेछ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा रहेको आयोजना सुदुरपश्चिमकै पहिलो ठूलो आयोजना हो भने नेपालको जलविद्युत् क्षेत्रमा प्रतिमेगावाट ५३ करोडभन्दा बढी लागत लागेको एकमात्र आयोजना हो । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न हुन दोब्बरभन्दा बढी समयसमेत लागेको थियो । यही कारण समयमै विद्युत् उत्पादन नहुँदा मुलुकले १६ अर्ब रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको सो चमेलियालाई सरकारी संस्थानले निर्माण गरेर खराब आयोजनाको रूपमा लिइन्छ । यसको कारणको रूपमा उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दाको परिणामको रूपमा लिइन्छ ।

विद्युत् प्राधिकरणका अनुसार सुरुको लागत ८ अर्ब ३४ करोड रहेको आयोजनाले लागत बढेर सम्पन्न हुने लक्ष्य राखिएको आगामी डिसेम्बरसम्ममा १५ अर्ब ९९ करोड पुगेको छ । समयमै नबन्दा ७ अर्ब ६५ करोड लागत बढेको आयोजना सम्पन्न नभएर विद्युत् उत्पादन नहुँदा ६ वर्षमा ८ अर्ब ४७ करोड रूपैयाँ गुमाएको छ । विद्युत्् प्राधिकरणको औसत बिक्री मूल्य सन् २०१७ मा प्रतियुनिट ९ रुपैयाँ ८५ पैसा थियो । यदि यो आयोजना बनेको भए भारतबाट यतिनै बराबरको विद्युत् भारतबाट आयात गर्नुपर्ने थिएन । चमेलिया जलविद्युत् आयोजनाको प्रक्षेपणअनुसार वार्षिक रूपमा १८४.२१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको सम्पन्न गर्ने मिति २०११ डिसेम्बर भए पनि समयमै सम्पन्न नभएर हाल सम्पन्न गर्ने अन्तिम लक्ष्य २०१७ डिसेम्बरलाई मानिएको छ । यसको आधारमा सो वर्ष १ अर्ब ८१ करोड ४४ लाख, सन् २०१६ को औसत मूल्य प्रतियुनिट ८.२७ रुपैयाँको आधारमा १ अर्ब ५२ करोड ३४ लाख र सन् २०१५ को औसत मूल्य ७.२८ रुपैयाँको आधारमा १ अर्ब ३४ करोड १० लाख बराबरको विजुली समयमै सम्पन्न नहुँदा गुमाउनु परेको प्राधिकरणको तथ्यांकले देखाएको छ । त्यसैगरी प्रतियुनिट ७.१३ औसत मूल्य भएको सन् २०१४ मा १ अर्ब ३१ करोड ३४ लाख, प्रतियुनिट औसत मूल्य ६.९० भएको सन् २०१३ मा १ अर्ब २७ करोड १० लाख र प्रतियुनिट ६.५७ रूपैयाँ औसत बिक्री मूल्य भएको बेला सन् २०१२ मा १ अर्ब २१ करोड २ लाख रुपैयाँ बराबरको बिजुली समयमै नबन्दा खेर गएको थियो ।
विज्ञहरूले आयोजना सुरु हुनुपूर्वको तयारी कमजोर, विस्तृत रूपमा अध्ययन हुन नसक्नु र चमेलियाले अनावश्यक र महँगा सवारीसाधन किनेर ठूला नेताहरूलाई दिनेजस्ता कारणले आयोजना महँगो भएको बताइएको छ ।
आयोजनाको मुख्य काम सिभिलको ठेक्का चाइना गेजुवा कम्पनीले पाएको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले पाएको थियो । भेरियसनबारे संसदको सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दिएको तथा गेजुवाले भेरियसनको काम नपाएको भन्दै लामो समयसम्म काम नगरेको कारण पनि आयोजनाको काम लम्बिएको थियो । जर्नाद्धन शर्मा सार्वजनिक लेखा समितिको सभापति भएको बेला ६ असार २०७१ मा अनियमितता भएको भन्दै निर्देशन दिएको आयोजनालाई उनी ऊर्जा मन्त्री भएपछि दुई वर्ष अघि मात्र काम अघि बढेको थियो । १ अर्ब ९ करोड रूपैयाँको यही भेरियसनको स्वीकृति गर्दा अनियमितता गरेको आरोपसँगै खुम्चिएको ८४३ मिटरको सुरुङ निर्माणको काम समेत अवरुद्ध भएको थियो । यही कारण आयोजना अघि बढाउन लामो समय लागेको थियो ।