नीरज पिठाकोटे
बुधवार, पुष १२, २०७४
2342

नेपालका सिमेन्ट उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थ क्लिंकरलगायतका अन्य कच्चा पदार्थ आयातमा देखिएको समस्या थप जटिल बन्दै गएको छ । नेपालका लागि आयात गरिने कच्चा पदार्थ लोड–अनलोडका लागि प्रयोग गर्दै आएको रक्सोलको रेलवे साइडमा स्थानीयको विरोधपश्चात भारतीय रेलवेले सिधा वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अनलोड गर्ने एकपक्षीय निर्णय गरेको छ । यसले निम्त्याएको क्लिंकर लोड–अनलोडको समस्या समाधानका लागि बोलाइएको वैठकमा दुवै देशका प्रतिनिधिहरूबाट समाधानको कुनै विकल्प ननिस्किएपछि थप जटिल बन्दै गएको हो ।
स्थानीयको अवरोधपछि भारतीय रेलवेले वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का पाएको भारतीय कन्टेनर निगम लिमिटेडलाई पत्राचार गरेर सुक्खा बन्दरगाहमा नै अनलोड गर्ने व्यवस्था गर्न भनेको छ । यसपछि उत्पन्न समस्या समाधानका लागि बोलाइएको वैठकमा कुनै ठोस निर्णय नहुँदा क्लिंकरको समस्या थप जटिल बन्दै गएको भन्दै सिमेन्ट उद्योगीहरू भने चिन्तित बनेका छन् । क्लिंकरको धूलोले वातवरण प्रदूषण भएर भारत रक्सोलका स्थानीयहरूको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै त्यहाँ प्रदूषण नगर्न आदेश दिएपछि तनावमा रहेको भारतीय रेलवेले तत्काल नेपालको सिर्सिया सुक्खा बन्दरगाहमा अनलोड गर्ने व्यवस्था गर्न भारतीय कन्टेनर निगमलाई पत्राचार गरेको थियो । भारतीय कन्टेनर निगम नेपालस्थित सुक्खा बन्दरगाह संचालन गर्ने हिमालयन टर्मिनलको मुख्य साझेदार पनि हो । तर, नेपालले सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभएको जनाएपछि समस्या झन् जटिल बनेपछि सुक्खा बन्दरगाह संचालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवै पक्षका पदाधिकारीलाई बोलाएको थियो ।

वैठकमा वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल सेवा निगमले नेपाली पक्षलाई कुनै आधिकारिक जानकारी नै नगराएको बताए । उनले भने, “यस विषयमा हामी धेरै गम्भीर छौं, समस्या विभिन्न सञ्चार माध्यममार्फत र नेपालका निजी क्षेत्रमार्फत जानकारी भएपछि लगातार छलफल गरिरहेका छौं ।” दीर्घकालिन रूपमा समाधानका लागि नेपाल सरकार लागि परेको उनले बताए । अहिले तत्कालका लागि भने पूरानै अवस्थामा क्लिंकर आयात हुन दिनुपर्ने सहसचिव सैंजुको भनाइ छ । यस्तै, नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएकोले एकपक्षीय निर्णयको कुनै अर्थ नभएको बताए । उनले भने, “ड्राइपोर्टमा अनलोड गर्नका लागि पनि केही कानुनी प्रक्रियाहरू हुन्छन्, भारतीय रेलवेले नेपाल पक्षलाई जानकारी नगराई आफ्नो एकल निर्णयले मात्रै क्लिंकर अनलोड हुन सक्दैन ।” उनले यसलाई आपूmहरूले गम्भीर रूपमा लिएको बताए । “मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्नु हँुदैन रक्सोलका वासिन्दा पनि हाम्रै दाजुभाइ हुन्, नागरिकता मात्रै फरक हो यसको दीर्घकालिन समाधानका लागि थप छलफल हुन्छ,” उनले भने । यस विषयमा भारतीय र नेपाल दुवैपक्षले माथिल्लो तहमा छलफल गरेर समाधान निकालिने निर्देशक बस्नेतले बताए ।
भारतीय रेलवे इष्ट सेन्ट्रल जोनका चिफ अपरेटिङ मेनेजर सलिल झाले रक्सोलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आईसीडीमा अनलोड गर्ने व्यवस्था गर्नुपर्ने अडान राखेका थिए । नेपाली सिमेन्ट उद्योगीहरूले भने अहिले नै तत्काल ड्राइपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने भन्दै केही समयका लागि पुरानै अवस्थामा आयात गर्न पाउनुपर्ने माग गरेका छन् । भातीय कन्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले कुनै राजनीतिक दबाव र कारण नभई रक्सोलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न आपूmहरू नेपाल आएको र यसलाई दुवैपक्षले मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
जगदम्बा स्टीलका प्रमुख कार्यकारी अधिकृत अनुराग शर्माले सुक्खा बन्दरगाहमा अहिले छड उत्पादन गर्ने कच्चा पदार्थहरू आयातमा नै समस्या रहेकोले क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या हुने भएकोले पूर्वाधार तयार नभएसम्मका लागि अर्को व्यवस्था गर्न भारतीय रेलवेसँग आग्रह गरेका थिए । भारतीय रेलवे सेवा निगमले भने अनुसार सुक्खा बन्दरगाहसम्म क्लिंकर लोड गरेको रेल पुर्याइदिने र भारतबाट आयात गरिने क्लिंकर अनलोडका लागि वीरगन्जस्थित सुक्खा बन्दरगाह बाहेक तत्काल अर्को विकल्प नभएको भन्दै भारतीय पक्षले सुक्खा बन्दरगाहमा नै अनलोड गर्ने व्यवस्था गर्न अडान लिएका छन् । सुक्खा बन्दरगाहमा छड उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ आयातमै रेल ट्रयाक उपलब्ध नभएर समस्या हुने गरेकोले क्लिंकर पनि बन्दरगाहबाटै आयात गर्दा थप समस्या सृजना हुने आयातकर्ताहरूको भनाइ छ ।
क्लिंकरको ढुवानी गर्ने ठेकेदार पवनपुत्र रोडवेजका सञ्चालक रजत सचदेवाले बन्दरगाहबाट क्लिंकर ढुवानी असम्भव रहेको बताए । उनका अनुसार अहिले भारतीय रेल सेवाले छोडेको ६ नम्बर लाइनको रेलमा छड उत्पादन गर्ने कच्चा पदार्थ आउने गरेको र त्यो बन्दरगाहमा आइपुग्न दुई दिन लाग्ने गरेको छ । त्यसमा भारतीय रेलवे कम्पनीले भने ड्यामरेज चार्ज (विलम्ब शुल्क) लिने गरेको छ । भारतीय रेलवेले भने ४८ घण्टामा ल्याइपुर्याउने दावी गरेका छन् ।
भारतीय रेलवेले रातरात यस्तो निर्णय गरेर अन्याय गरेको उनको भनाइ छ । उनले भने, “घर भाडामा लिएर डेरा बस्नेलाई पनि सीमित समयावधि तोकेर घर खाली गर्न लगाइन्छ । यो रातारात ड्राईपोर्टमा खाली गर भनेर एकलौटी निर्णय गर्नु राम्रो भएन ।”
सिर्सियावासीको विरोध
यता, ड्राइपोर्टमा क्लिंकर अनलोड गर्ने हल्ला भएपछि स्थानीयहरूले विरोध गर्न थालेका छन् । वीरगञ्ज महानगरका बासिन्दाले वीरगञ्ज ड्राइपोर्टमा सिधै क्लिंकर झार्ने विषयको विरोध गर्दै ड्राइपोर्टमा ज्ञापन बुझाएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौकी वडा अध्यक्ष सुकरानी देवी यादव र वडा नं. २५ का वडा अध्यक्ष वीषराज पटेलको टोलीले सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालायन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीलाई ड्राईपोर्टमा क्लिकर नझार्न आग्रह गर्दै ज्ञापन बुझाएको हो ।
विना पूर्वतयारी ड्राइपोर्टमा क्लिंकर झारिए दुवै वडाका स्थानीय बासिन्दाको स्वास्थ्य र जीवनमा खराब असर पर्ने भएकोले क्लिकंर नझार्न स्थानीयले आग्रह गरेका छन् । यदि वडावासीको स्वास्थ्यसँग खेलवाड गरिने प्रयास गरिए कडा आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।

सिमेन्ट उद्योगीहरू चिन्तित
स्थानीयको आन्दोलन र भारतीय रेलवेको निर्णयले वीरगन्ज पथलैया औद्योगिक करिडोरका सिमेन्ट उद्योगीहरू भने चिन्तित बनेका छन् । रक्सोल र वीरगन्जका स्थानीयले आन्दोलनले सिमेन्ट उद्योगको कच्चा पदार्थ क्लिंकर आयातामा अवरोध हुने भएपछि सिमेन्ट उद्योगहरूको उत्पादनमा असर पर्ने भएकोले उद्योगीहरू चिन्तित भएका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ताले यस्ता समस्याको दीर्घकालिन समाधानको लागि दुवै देशका अधिकारीहरूसँग माग गरेका छन् । उनले नेपालमा क्लिंकर ढुवानी समस्याको समाधानका लागि दुवैदेशका अधिकारीहरू जिम्मेवार भएर लाग्न पनि आग्रह गरे । वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले फलाम आयातमा समस्या झेलिरहेका उद्योगी व्यवसायीहरूलाई क्लिंकर पनि ड्राइपोर्टबाटै ल्याएर अझ बढी समस्यामा पार्न खोजको आरोप लगाए । भारतीय अवरोधले नेपालका दर्जन भन्दा बढी सिमेन्टहरू प्रभावित हुँदा नेपालको अर्थतन्त्रमै असर पर्ने उपाध्यायको भनाइ छ ।