कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
1616

स्याङ्जाको हरिनास गाँउपालिका–३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या भएको छ । स्याङ्जाको साविक मग्याम चिसापानी गाविसका ३० वर्षिय चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्काको हत्या गरिएको हो ।
बिहान ४ बजेको समयमा मुखमा मास्क लगाएर आएको हतियारधारीले हत्या गरेको खड्काकी श्रीमती अनिता खड्काले जानकारी दिएकी छन् । घटनापछि स्याङ्जाका प्रहरी प्रमुखको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको छ भने कसले के उद्देश्यले हत्या ग-यो भन्ने विषय हालसम्म अझै खुलेको छैन ।

घटनास्थलमै पुगेर थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको स्याङ्जाका डीएसपी नविनकृष्ण भण्डारीले बताए । जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुरसहित पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको भण्डारीले जानकारी दिए । हत्या गरिएका बाबु छोराको शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । डीएसपी भण्डारीका अनुसार पोष्टमार्टमपछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने छ ।
प्रहरीले खड्काकी श्रीमती र मृतकका भाइलगायतलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए । घटनास्थलको पहिलो चरणको अनुसन्धान भइसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जनाए ।
स्याङ्जा प्रहरी प्रमुख लम्सालले भने, “गाउँ बाक्लो बस्ती रहेकाले पनि हत्यारालाई हत्या गर्न सजिलो भएको देखिन्छ ।” घटनाबारे तिब्र गतिमा अनुसन्धान थालेको लम्सालले बताए । घरको एउटै कोठामा फरक–फरक खाटमा सुतेका श्रीमान्–श्रीमती मध्ये बाबुछोरा एउटा खाटमा र श्रीमती अर्को खाटमा सुतेका बेला घटना भएको देखिन्छ । हतियारले श्रीमान् र छोरालाई हानिरहेको देखेपछि खड्काकी श्रीमतीले चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
झण्डै ६ वर्ष वैदेशिक रोजगारीबाट फर्किएका र कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका उनी इमान्दार र लगनशिल व्यक्ति भएको स्थानीय सोमनाथ लम्सालले बताए । लम्सालका अनुसार खड्काले गाउँघरका छिमेकीसँग यसअघि झैझगडा समेत गरेका थिएनन् ।