मनिषा चम्लागाईँ
बुधवार, श्रावण १, २०७६
2003

राज्यले नेटवर्किङ व्यवसायलाई गैरकानुनी ठहर गरेको छ । तर, विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधि मुलुकमा छिरेर सक्रिय रहनुले नेटवर्किङ व्यवसाय निरन्तर चलिरहेको देखाउँछ । परिणाम सर्वसाधरण ठगिने क्रम बढ्दो छ ।


झापा-जटिल प्रकृतिका रोग निको पार्ने भन्दै देशभरका जिल्लामा ओरियन्स नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको पाइएको छ । ओरियन्स कम्पनी भारतको चेन्नईमा दर्ता रहेको सो नेटवर्किङमा सक्रियहरू बताउँछन् । ओरियन्सले एलोपेथिक चिकित्सा पद्धतिलाई चुनैति दिँदै व्यवसाय बढाइरहेको छ । ओरियन्समा सक्रिय रहेकाहरूले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई उत्पादन बिक्री गरेर मोटो रकम लिने गरेको ओरियन्सका उत्पादन प्रयोगकर्ताहरू गुनासो गर्छन् ।
नेपालमा दर्ता नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ । रोग निको पार्ने भनेर बिक्री गरिएका उत्पादनलाई व्यवसायमा लागेकाहरू औषधी भन्न तयार छैनन् । भारतको चेन्नईमा कार्यालय रहेको भनिएको ओरियन्सले आफ्नो उत्पादन नेपालका कुना काप्चासम्म बिक्री गर्दै आएको छ । आफूले सदस्य विस्तार गरेबापत बोनस प्राप्त गर्ने सकिने भन्दै नागरिकसँग ओरियन्सले लाखौँको कारोबार गर्दै आएको छ । यस्तो कार्य पूर्वका जिल्लाहरूमा फष्टाएको छ ।
यसमा सक्रिय सदस्यहरुले आयुर्वेदिक भएकाले सोचेजस्तो छिटो रोग निको हुँदैन भन्दै रकम असुल्ने गरेका छन् । ओरियन्सको उत्पादन प्रयोग गर्दा निको हुनुभन्दा पनि लाखौँ रुपैयाँ ठगीमा परेको झापाको भद्रपुर नगरपालिका–७ का पदम गिरीले बताए । ओरियन्सको उत्पादन प्रयोग गरे पनि गिरीको रोग निको भएन । रोग अझ जटिल बन्दै गएको गिरीले बताए । उनले खिन्न हुँदै भने, “अन्त्यमा अस्पताल नै जानुप-यो ।” रोग पूर्ण रुपमा निको हुन्छ भन्ने आश्वासन पाएर बुबाआमालाई समेत प्रयोग गर्न लगाएको गिरीले बताए । आफू जस्तै स्थानीय ५२ जना ठगीमा परेको उनी सुनाउँछन् ।
‘फ्रुड सप्लिमेन्ट’ भएको कारण यो औषधी नभएको नेटवर्किङमा संलग्न व्यक्तिहरु दाब िगर्छन् । झापाकै भद्रपुर नगरपालिका–७की सुनमाया श्रेष्ठले पनि ओरियन्सको उत्पादन प्रयोग गरिन् । ओरियन्सको उत्पादन प्रयोग केही समय सेवन गरिन् तर, उनको रोग निको भएन । लाखौँ खर्च हुने तर जटिल प्रकृतिका रोग निको नभएका मानिसहरूले बढी मात्रमा ओरियन्सका उत्पादन प्रयोग गर्ने गरेको बताइन्छ । ओरियन्सका उत्पादनमा कुनै पनि प्रकारको रसायन मिसावट नहुने कारणले गर्दा यसलाई औषधी भन्न नमिल्ने व्यवसायमा लागेकाहरू बताउँछन् । ५ वर्षभित्र समृद्ध नेपाल बन्ने र सबैले ओरियन्सकै उत्पादन प्रयोग गर्ने दाबीसमेत प्रचारकहरू गर्छन् । यो ‘फुड सप्लिमेन्ट’ नेपालीका लागि महँगो भएको एक प्रचारकले बताए ।
आफूले सदस्य बनाएको व्यक्तिले सदस्यता विस्तार गरे उसले बोनस पाउने उनको भनाइ छ । आफूले गरेको काम हेरी नाफा प्राप्त हुने प्रचारकहरु बताउँछन् । दिनानुदिन यो अभियानमा लाग्नेको संख्या बढेकाले यसबाट प्रभावित हुनेको संख्या पनि बढ्दै गएको छ । ओरियन्सको गतिविधि र प्रक्रिया हेर्दा विगतको युनिटि नेटवर्किङ जस्तै छ । ओरियन्समा लागेकाहरूले नाम सार्वजनिक गर्न नचाहनुले पनि यो व्यवसाय गैरकानुनी छ भन्ने संकेत गर्छ ।

झापाबाट पक्राउ

ओरियन्सको प्रचार र ठगीमा संलग्न ३ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका खुट्टेडाँगीबाट तुलसीपुर उपमहानगरपालिका –९ दाङकी कृष्ण साही ठकुरी, त्रिवेणी गाउँपालिका रोल्पाकी मेनुका घर्ती मगर, बर्दगोरिया गाउँपालिका कैलालीका चक्रबहादुर बोहोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
दाङकी गायत्री थापा र बैतडीका धनबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय झापामा ठगीको उजुरी दिएपश्चात् उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले मेचीगरस्थित धुलाबारीको खुट्टेडाँगीमा कोठा भाडामा लिएर नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । पक्राउ पर्नेलाई म्याद थप गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।
व्यवसायमा लाग्नका लागि अन्य २१ जनालाई प्रशिक्षण दिइरहेको सूचना प्राप्त भएसँगै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले बताए । १३ महिला र ८ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रमुख मैनालीले बताए । नियन्त्रणमा लिएका उनीहरू कैलाली, रोल्पा, डोल्पा, दाङ, सल्यान, अछाम, बैतडी लगायतका युवायुवती रहेको प्रमुख मैनाली बताउँछन् । उनीहरूले प्रलोभनमा पारी विभिन्न जिल्लाबाट मानिस ल्याउने र प्रशिक्षण दिने काम गर्दै आएको खुलेको छ । केही दिन अघिमात्र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६बाट अन्दाजी पाँच लाख रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधी बरामद गरेको थियो । अवैध रूपमा नेपाल भित्र्याइएका ओरियन्सका दुई कार्टुन औषधि बरामद भएको हो ।

सातामा धेरै पढिएको