कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५
15532

भौगोलिक हिसाबले नेपालको प्रमुख केन्द्र सिंहदरबारबाट सबैभन्दा नजिक र उपयत्यकासँग जोडिएको काभ्रेमा १३ स्थानीय तह छन् । जसमा ६ नगरपालिका र ७ गाउँपालिका पर्दछन् । अरनिको राजमार्गसँग जोडिएको काभ्रेपलाञ्चोकबाट शुरु भएको बीपी राजमार्गले राजधानी काठमाडौंलाई पूर्वी तराईसग जोड्ने गर्दछ । धुलिखेलबाट १५९ किमिमा बर्दिबासमा महेन्द्र राजमार्ग सँग जोडिन्छ ।
काभ्रे हुँदै अरनिको राजमार्ग पनि यस जिल्ला भएर नै सञ्चालन छ । साँगा, पाँचखाल दोलालघाट हुँदै कोदारी पुग्ने राजमार्गले काभ्रेका उत्तर पूर्वी भेग हुँदै चीनको खासा पुगिन्छ । छिमेकी दुई देशलाई जोडाउने काम पनि काभ्रेले गरेको छ । धुलिखेलबाट अरनिको राजमार्ग हुँदै चीन र विपी राजमार्ग हुँदै भारत पुग्न सकिन्छ । हाल बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न सकिए चीन र भारत ओहोरदोहोरका लागि ट्रान्जिट प्वाइन्टको रुपमा पनि हेरिएको छ । आवश्यक पूर्वाधारहरू निर्माण गरिएमा काभ्रे त्रिदेशीय व्यापारी केन्द्रको रुपमा विकास सम्भावना धेरै छ ।
हालको विकासको दृष्टिकोणले आधारभूत विकासका अधिकांश पूर्वाधारहरू पुगिसकेका छन् भने ठूला ठूला पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था छ । जिल्ला समन्वय समितिको तथ्यांक अनुसार, १३ वटा स्थानीय तहमा बाँडिएको काभ्रेपलाञ्चोकमा २ सय १५ किलोमिटर कालोपत्रे, ४ सय २५ किलोमिटर ग्राभेलसहित ५ हजार किलोमिटरभन्दा लामो सडक सञ्जालबाट १३ बटै स्थानीय तहमा मोटरबाटो पुगेको छ । सुनकोसी र इन्द्रावती नदीमा ड्याम बाँधेर कृत्रिम तालसँगै ५ सय ३६ मेगावाटको सुनकोशी जलविद्युत आयोजना निर्माणको सम्भावना छ । यसले जिल्लाको भविष्य फेर्ने आशा काभ्रेवासीको छ ।
काभ्रे जलविद्युत् उत्पादनमा निकै अगाडि छ । खोपासी जलविद्युत् केन्द्रको पूर्ण क्षमतामा सञ्चालन, डाँडापारि, कोसीपारि, रोशीलगायत जिल्लाका दुर्गम क्षेत्रमा स्थापना भएका लघु जलविद्युत्हरूको मर्मत, सम्भार तथा विस्तार र केन्द्रीय प्रसारणलाइन विस्तार जिल्लालाई औद्योगिक रूपमा अघि बढाउने औजारहरू हुन् । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको व्यवस्थित पुनर्निर्माण, नगर÷गाउँस्तरीय विपद् व्यवस्थापन कोष स्थापना युवाहरूको सपना हो । नयाँ बन्ने निजी तथा सार्वजनिक भवनहरू भूकम्पप्रतिरोधी बनाउन सचेतनात्मक कार्यक्रमहरू स्थानीय तहवाट हुने आशा आम नागरिकको छ ।
काभ्रे दूध र तरकारीको राजधानी हो । घर बनाउने निर्माण सामग्रीको आयातको मुख्य हिस्सा काभ्रेको छ । ढुंगाखानी, क्रसर उद्योग, नदीजन्य सामग्रीलगायतका स्थानीय तहका आन्तरिक आय बढाउने आधार छ ।

काठमाडौंको वैकल्पिक सहर
काठमाडौंको विकल्पका रूपमा काभ्रेका सहरहरू उत्तम हुन सक्छन् । सूर्यविनायकसम्म बढेको ६ लेनको सडक धुलिखेलसम्म विस्तार हुनेबित्तिकै काभ्रेका ६ वटा नगरपालिका नै राजधानीको विकल्पको सहर हुन सक्छन् । अस्पताल, विश्वविद्यालय, काभ्रे उपत्यका सफा खानेपानीका कारण काभ्रेका नगरहरूमा धेरैको आकर्षण बढेको छ । काठमाडौंसँग सीधा र सस्तो यातायातका कारण राजधानीको वैकल्पिक सहरका रूपमा काभ्रे अघि बढेको छ । शिक्षामा सबैको रोजाईमा पर्ने काठमाडौं विश्वविद्यालय, मल्पी इन्तरनेश्नल, कुप्स, एसओएसलगायतका शैक्षिक संस्था एवं धुलिखेल अस्पताल, अपाङग अस्पताल, स्पाइनल इञ्जुरी, शिर लयागतका अस्पतालहरू काभ्रेमै भएका कारण मानिसहरूको रोजाई पनि काभ्रेमा पर्न थालेका छन् । पाँचखालको उर्वराभूमि, तेमाल, महाभारत, कोसीपारी, रोशी, सुनकोसी, धुलिखेल सौन्दर्य, पनौतीको ऐतिहासिक धरोहर, बनेपाको व्यापार, डाँडापारिका प्राकृतिक स्रोतले काभ्रेलाई विश्व मानचित्रमा निरन्तर चिनाइरहेका छन् ।

चर्चा प्रदेश राजधानीको
प्रदेश नम्बर ३ को राजधानी काभ्रेपलाञ्चोकमा बनाउन प्रस्ताव दर्ता गरे लगत्तै जिल्लामा सरगर्मी बढेको छ । जिल्लाका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्था एवं पत्रकार महासंघ ३ नं प्रदेशको राजधानी काभ्रे ल्याउने पहलमा तयारी शुरु गरेका छन् । जिल्लाबाट निर्वाचित प्रदेश सभाका सांसद चन्द्र लामाको प्रस्तावमा रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल समर्थक रहेर प्रदेश सभामा काभ्रेपलाञ्चोक जिल्लालाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव दर्ता भएको छ ।
दर्ता भएसँगै काभ्रेमा राजधानी आउँछ की आउँदैन भन्ने विषयले काभ्रे तातेको हो । प्रदेश मन्त्रालयका चार वटा भवन, प्रदेश प्रमुख, मुख्य मन्त्री, मुख्य सचिव, सभामुख, उप सभामुख लगायतका अन्य सात मन्त्रीको निवासका लागि आईटी पार्क भित्रै भवन निर्माण गर्न सकिने प्रतिवेदन समेत तयार गरेर काभ्रे लबिङमा लागेको छ । प्रदेशको राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरूको तयारी शुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेशको स्थायी राजधानी नीति, विधि र संविधान अनुसार हुने बताईरहँदा राजधानीको आकाँक्षा राख्ने जिल्ला काभ्रेले त्यसको तयारी शुरु गरेको छ ।
आईटी पार्क क्षेत्रमा प्रदेश राजधानी राख्दा जम्मा कायम भएको १ सय ९२ रोपनी जग्गामा थप संरचना समेत बनाउन सकिने तथा प्रदेश सभाको लागि थप आवश्यक जग्गा समेत लिनको लागि पर्याप्त सार्वजनिक जग्गाहरू वरिपरी रहेको प्रतिवेदन तयार भएको भवन डिभिजन कार्यालय काभ्रेका इन्जिनियर अशोक अधिकारीले जानकारी दिए । तत्कालको लागि आवास भवनहरू समेत उपलब्ध रहेको र एउटै क्षेत्रबाट सरकारी सेवा समेत प्रदान गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । भवन डिभिजन कार्यालय काभ्रेले तयार गरेको प्रतिवेदनमा आईटी पार्कको मुख्य भवनको पहिलो तल्लामा मुख्य मन्त्रीको कार्यालय राख्न सकिने उल्लेख गरिएको छ । जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरूलाई पनि प्रदेश तहको राजधानीका लागि प्रयोगमा ल्याउन सकिने प्रतिवेदन बुझाइएको छ ।
जिल्लाबाट निर्वाचित सासंद एवं संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लाका सम्भावनाहरूलाई थप प्रभावकारी बनाउन लागिपर्ने बताए । उनले ३ नं प्रदेशको राजधानी काभ्रे उपयुक्त भएको बताएँदै आफुले सक्दो पहल कदमी गर्ने बताए ।

आन्तरिक विमानस्थलको चर्चा
सरकारले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको विकल्पमा छुट्टै आन्तरिक विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले काठमाडौंमा सेवा केन्द्रित गरेका साना जहाजहरूको उडान—अवतरणमा त्रिभुवन विमानस्थलको विकल्पमा काभ्रेमा आन्तरिक विमानस्थल बनाउन प्रक्रिया सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ल्यान्ड हुँदै आएका आन्तरिक जहाजलाई धुलिखेलमा एयरपोर्ट बनाएर सार्ने बताएका हुन् । काभ्रे जिल्लामा आन्तरिक विमानस्थल बन्ने भएको छ । राजधानीमा बढ्दै गएको उडानको चापलाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्थास्वरुप काभ्रेमा विमानस्थल बनाउनका लागि संभाव्यता अध्ययन र अवलोकन मन्त्री अधिकारीको नेतृत्वमा सम्पन्न भएको छ । त्रिभुवन विमानस्थलमा विमानहरू धेरै बेर होल्डिङमा बस्नुपर्ने भएकोले बैकल्पिक विमानस्थलको रुपमा उपत्यकाको नजिकै रहेको काभ्रेका बनेपा नगरपालिका र पनौती नगरपालिकाको सिमानामा पर्ने नागीडाँडा, धुलिखेल ७ र ९ को सिमानामा पर्ने ठुलीचौर र धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठुलीचौरमा अवलोकन भएको हो । नागरिक संस्कृति, नागरिक उड्ययन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, संचार तथा सुचना (क्याबिनेट) राज्यमन्त्री गोकुल बाँस्कोटा, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम लगायत स्थानीय जन प्रतिनिधि सहितको टोलीले आन्तरिक विमानस्थल बन्न सक्ने काभ्रेका सम्भावित ठाउँहरूको अवलोकन गरेको थियो ।
मन्त्री अधिकारीले काठमाडौंको हवाई चाप कम गर्नलाई काठमाडौं नजिकै अर्को विमानस्थल खाँचो भएकोले आन्तरिक विमानस्थल बनाउन काभ्रेमा स्थलगत अनुगमन गर्न आएको बताए । अवलोकन गरिएकामध्ये धुलिखेलको ठूलीचौर र चिसापानी तथा बनेपाको नागीडाँडामध्ये कहाँ विमानस्थल बनाउन उपयुक्त हुन्छ भन्ने निष्कर्षसहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने गरी ६ सदस्यीय प्राविधिक अध्ययन सुझाव समूह गठन गरिएको छ । मन्त्रालयले यसअघि नै गठन गरेको विज्ञ समूहका सदस्य कमलकुमार केसीको संयोजकत्वमा बनाइएको समूहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास बोछिभोया र बाबुराम पौडेल, उपनिर्देशक सुवर्ण उपाध्याय र सिताराम भण्डारी तथा इन्जिनियर नलविक्रम थापा रहेका छन् । मन्त्री अधिकारीले १५ दिनमा विमानस्थल बनाउने बारेमा विज्ञ टोलीले दिएको सुझाव अनुसार कहाँ बन्ने भन्न सकिने बताए ।

पर्यटनमा अथाह सम्भावना
ऐतिहासिक, धार्मिक तथा पुरातात्वीक सम्पदाहरूको संग्रहालय नै हो काभ्रे । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित गराउने सम्पदा काभ्रेमा धेरै छन् । धुलिखेल, पलाञ्चोक, नमोबुद्ध, बेथानचोक, सुलीकोट नगरकोट क्षेत्रमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन आजको आवश्यकता हो । पनौती, नमोबुद्ध, पलाञ्चोक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सके नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा जिल्ला विकास हुन्छ । त्यसका केही प्रयाससमेत सुरु भएका छन् । सुनकोसीमा ¥याफ्टिङ, फिसिङ, रक क्लाइम्बिङ, कुशादेवीमा प्याराग्लाइडिङको सफल परीक्षण भएका छन् । काभ्रेमा पर्यटक भित्र्याउन सक्ने अर्काे थलो तेमाल क्षेत्र हो । तेमाल क्षेत्रमा तामाङ सांस्कृतिक संग्रहालय स्थापना गर्ने सके विश्वका पर्यटक सिधै नेपालमा आउँछन् । काभ्रेमा रहेका लोपोन्मुख हायू, माझी, पहरी, दनुवार समुदायको संस्कृतिको जगेर्नाका लागि उनीहरूको बाहुल्य रहेको क्षेत्रमा संग्रहालय तथा सांस्कृतिक प्रदर्शन केन्द्रहरू स्थापना मात्रै गर्न सके पर्यटक उत्तिकै लोभिन्छन् ।
इन्द्रावती र भोटेकोशीको दोभान दोलालघाट सँगै जिल्लाको उत्तरी भेगमा रहेको चण्डेनीमण्डनमा रहेको ऐतिहासिक कोटथुम्को पर्यटकिय हिसाबले महत्वपूर्ण ठाउँ हो । त्यस्तै जिल्लाको तेमाल, नमोबुद्ध लगायतका क्षेत्र पर्यटकिय हिसावले प्रमुख गन्तब्यको रुपमा रहेका छन् । तिमालबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङटाङग तथा अन्य हिमश्रृंखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । जिल्लाका पनौती, बेथानचोकनारायण, पलाञ्चोक भगवती लगायतका क्षेत्र धार्मीक पर्यटनको लागि महत्व पूर्ण छ । काभ्र्रेमा पर्यटकहरूको सेवामा ५ स्टार, ३ स्टार देखि सामान्य खालका १ सय भन्दा बढि होटलहरू सञ्चालन छ ।
काभ्रे जिल्लाको दक्षिणी भेगमा रहेको माहाभारत श्रृखला अझ भनौ, समुन्द्री सतहबाट ३०१८ मिटरको उचाईमा छ । धार्मिक विविधताले मात्र हैन मनोरम प्रमकृतिक सौन्दर्यता र पर्यटकिय सम्भाव्यताले पनि भरिपूर्ण रहेको छ । चिसो हावापानी, हरियाली वनजङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृष्यको एक मात्र संगम नारायणस्थान पुग्ने जो कोहीको मन उमङ्ग र आनन्दित हुने गर्दछ । अझ यहाँबाट बिहानीको सूर्योदय, साँझपखको सूर्यास्त र दिवाकरको चम्किलो हिम श्रृङ्खला देख्नेहरूका लागि स्वर्गको छुट्टै अनुभूति हुने गर्दछ । महाभारतबाट एकै पटक पहाडी तथा हिमाल एवं तराईका रमाइला र समथर दृष्यहरू देख्न सकिन्छ ।

कृषिमा अब्बल जिल्ला
कृषि उत्पादनका हिसाबले काभ्रे निकै महत्वपूर्ण जिल्ला हो । जिल्ला कृषि विकास कार्यालयले तयार गरेको प्रतिवेदनअनुसार नगदे बालीमार्फत वार्षिक ४ अर्ब रुपैयाँ भित्रिने गरेको छ । जिल्लाको तरकारीमध्ये पाँचखालको मात्रै २५ प्रतिशत योगदान रहेको छ । पाँचखाल सँगै नाला, पनौती, खोपासी, कुन्ता लगायतका ठाँउहरूवाट दैनिक १ करोड ९ लाखको तरकारी बिक्रीका लागि बजार आउने गरेको छन ।
जिल्लामा सबैभन्दा बढी आलुखेति हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाबाट उत्पादित तरकारीमध्ये ९२ प्रतिशत जिल्लाबाहिर खपत हुन्छ भने ८ प्रतिशतमात्रै जिल्लामा रहन्छ । गाउँदेखि सहरसम्म व्यावसायिक खेती सुरु भएको छ । पाँचखाललगायत व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी नाला, मण्डन, खोपासी क्षेत्रलाई लिन सकिन्छ । २ वटा राष्ट्रिय राजमार्गले जिल्लालाई जोडेपछि राजधानीमात्रै होइन, बेमौसमी तरकारी तराईका जिल्लामा समेत निर्यात भइरहेको छ ।
दुग्धमा आत्मनिर्भर

काभ्रे दुग्ध उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जिल्लामा बार्षिक प्रति ब्यक्ति ३ सय १५ लिटर दुध उपभोगका लागि उपलब्लध हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा ४ सय भन्दा बढि ठाउँका दुग्ुध संकलन केन्द्रबाट दैनिक ३ लाख लिटर दुध संकलन भई २ लाख ५० हजार लिटर दुध निर्यात हुँदै आएको छ । काभ्रेमा ५८ वटा चिस्यान केन्द्र, २ वटा नीजि दुध डेरी, २ सय ५ वटा साना डेरी पसल, १ सय ६४ वटा गाई फार्म, १ सय ६१ वटा ब्यवसायीक भैसी फार्म रहेको छ । काभ्रेमा २००९ सालमा नालाको टुसालमा पहिलो पटक दुध डेरी स्थापना गरी काभ्रे जिल्लामा दुध उत्पादन र विक्री वितरण शुरु भएको थियो ।

उपत्यकाको मागको ९९ प्रतिशत ढुंगा र गिट्टी निर्यात

भूकम्प गएपछि मात्र काभ्रेबाट गिट्टी, ढुंगा र बालुवा लगायत निर्माण सामाग्री अत्याधिक मात्रामा काठमाडौं निकासी भयो । इन्द्राबती, सुनकोशी, पनौती साईडको रोशी, तथा विपी राजमार्ग नजिका खानी तथा खोलाबाट काठमाडौंमा धेरै नै निर्माण सामाग्री निकासी हुन्छ । काभ्रेबाट बालुवा बाहेक ढुंगा र गिट्टी काठमाडौंको मागको ९९ प्रतिशत काभ्रेबाट जान्छ । बालुवा पनि काभ्रेबाट ५० प्रतिशत आपुर्ति हुन्छ ।
काभ्रेमा सरदर दिनमा १२ सय भन्दा बढि ट्रिपर गुड्ने र गुडेको मध्ये ८० प्रतिशत काठमाडौंको लागि सामाग्री लिएर जाने गरेको बाग्मती ट्रिपर व्यवसायी संघका कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिए । काठमाडौंमा भइरहेका बाटो लगायत विकास सनर्माणको लागि एवं भुकम्प पछिको पुननिर्माणको लागि गिट्टी, ढुंगा र बालुवा लैजाने गरिएको छ । भुकम्प अघिको भन्दा भुकम्प पछि तेब्बरको मात्रामा निर्माण सामाग्री उपत्यका जाने गर्दछ । निर्माण सामाग्रीको लागि निकै थेगेको काभ्रेमा भने नियमअनुसार क्रसरहरू चलेका छैनन ।


दोलालघाटसम्म जलमार्गको सम्भावना

सप्तकोशीमा नेपाली झण्डावाल ‘पानी जहाज’ चलेको समाचार सुनेर धेरै नेपालीहरू खुशी देखिए । ३० सिटे जेटबोट सुनसरीको चतरादेखि भोजपुर, उदयपुर र धनकुटाको सिम्लेसम्म चल्न थालेको छ । सप्तकोशी हुँदै दोलालघाटसम्म पानीजहाज चल्ने चर्चाले काभ्रेवासी खुशी भएका छन् । सबैभन्दा पहिले एडमण्ड हिलारीले सन् १९६८ मा चतराको सप्तकोशी नदीबाट सुरु गरेर सुनकोशीको दोलालघाटसम्म जेटबोटमा जलयात्रा गरेका थिए । नदीमा पर्ने बाटोका ढिस्का र ठूला ढुंगाहरू हटाउने हो भने दोलालघाट, तुम्लिङटार र ताप्लेजुङको दोभानसम्म सहजै जेटबोट यात्रा हुन सक्ने जेटबोट सञ्चालकहरू बताउँछन् । तीन फिट गहिरो पानी र थोरैमा १५ फिट चौडाइ भएको खोलामा पनि सहजै जेटबोट जाने हुनाले यो निकै सम्भावना छ । यो हिसाबले अहिलेकै अवस्थामा पनि जेटबोट चलाएर सप्तकोशीका सहायक नदीहरू तमोर, अरुण, सुनकोशी जस्ता नदीमा जलयात्रा गराउन सकिने सम्भावना देखिएको छ । तर पनि सप्तकोशी उच्च बाँधका साथै सुनकोशी दोस्रो र तेस्रो निर्माणपछि पानी जहाजको सम्भावना छ ।

पाँचखालमा विशेष आर्थिक क्षेत्र

पाँचखालमा सरकारले विशेष आर्थिक क्षेत्र (सेज) का रुपमा तेस्रो प्राथमिकतामा राखेर काम शुरु गरेको छ । निर्माण सम्पन्न भएको भैरहवा सेज र निर्माणाधीन सिमरा सेजभन्दा पाँचखालमा फरक खालका पूर्वाधार बनाइने छ । पाँचखाल सेजभित्र कम्तीमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने गुरुयोजनामा उल्लेख छ । अहिले पाँचखाल सेज क्षेत्रभित्र कम्पाउन्ड वाल, बाटो, पानी, बिजुलीलगायतका अन्य पूर्वाधार विकासका काम सुरु भएको छ । निर्यातमूलक उद्योगलाई एकै ठाउँमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिनसरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्रको (सेज) बनाउन लागेको हो ।
चिनियाँहरूको विशेष चासो नेपालमा फर्निचर उद्योग स्थापना गरेर युरोपमा निकासी गर्ने रहेको पाइएकोले गुरुयोजनाले समेत पाँचखालमा बाँसजन्य, काष्ठ उद्यमका साथै फर्निचरलगायत सामग्रीका उद्योग उपयुक्त हुने देखाएको नेपाल उद्योग बाणिज्य महांसंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले जानकारी दिए । पाँचखाल सेज निर्माणका निम्ति वन मन्त्रालयले साबिक होक्से गाविसस्थित दुईवटा सामुदायिक वन क्षेत्रको जग्गा उपलब्ध गराइसकेको छ । वनले देवीस्थान पाँडुलला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको ४ सय गरी हजार रोपनी जग्गा दिएको हो । यसका निम्ति उद्योग मन्त्रालयले दुई वर्षअघि नै २० करोड रुपैयाँ वनलाई दिइसकेको छ । चीनसँग व्यापारका लागि पाँचखाल सेज उपयुक्त भएकाले यसलाई मोडेलका रुपमा बनाउनुपर्ने नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले जानकारी दिए । उनले सरकारले तत्काल तातोपानी नाका सञ्चालनको लागि पहल कदमी लिन पनि आग्रह गरे ।
-कपिल कोइराला