धर्मेन्द्र कर्ण
मंगलबार, बैशाख २५, २०७५
1283

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार नामांकन हुन बाँकी रहेको प्रदेश नम्बर ३ आर्थिक स्रोतसाधन र विकासका सूचकहरूका आधारमा पहिलो नम्बरको प्रदेश हो । यो प्रदेशमा चारवटा औद्योगिक क्षेत्र छन् ।
काठमाडौं औद्योगिक क्षेत्र, ललितपुर औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र हेटौंडा औद्योगिक क्षेत्र यसै प्रदेशमा पदर्छन् । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल पनि यहीँ छ । देशको राजधानी यहीँ छ । अहिलेका प्रमुख जलविद्युत् उत्पादन केन्द्र पनि यहीँ छन् । सरकारी तथ्यांकका हिसाबले कुल गार्हस्थ्य उत्पादनको आधा हिस्सा यो प्रदेशले ओगटेको छ ।

प्रदेश सभाका सत्तापक्ष होउन् वा प्रतिपक्ष, दुवैका सांसदहरूले प्रदेश नम्बर ३ देशकै समृद्ध प्रदेशमा रहेकोमा शंका गर्दैनन् । प्रदेश नम्बर ३ का अर्थ मामिला मन्त्री कैलाश ढुंगेल यो प्रदेशमा सबै स्रोतसाधन र विकासका सबै भौतिक पूर्वाधार रहेको बताउँछन् । यो प्रदेशले देशलाई नै हाँक्न सक्ने क्षमता भएको बताइरहँदा अर्थ मामिला मन्त्री ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीका नारा समृद्ध नेपाल सुखी नेपालीको भाव र मर्म बोकिरहेका थिए । हुन पनि हो, विश्वको कुनै ठाउँको गरिबी पछौटेपन दुनियाँका लागि अभिशाप र खतरा हुन सक्ने जस्तै त्यसको विलोम प्रदेश नम्बर ३ को आर्थिक समृद्धि अन्य प्रदेशको भार थेग्ने आधार हो ।
प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले पनि सकारात्मक कार्यका लागि सरकारलाई सघाउन आफूहरू तयार रहेको बताइरहँदा उनले देशको कुनै भागमा खान नपाएको आम नेपालीको मुखमा माड लगाउने जुक्तिमा प्रदेश नम्बर ३ पछि नपर्ने सन्देश दिइरहेका थिए ।
प्रतिपक्षी दलका नेताले देश बनाउन आर्थिक समृद्धिको बाटोमा तगारो नहाल्ने विश्वास दिलाइरहँदा अर्थमामिला मन्त्री ढुंगेलले पनि आफू सत्तापक्ष भए पनि आफूहरूको विकास र समृद्धिको एजेन्डा प्रतिपक्षीहरूकै भएको बताउनु दुवै पक्ष जनताको समृद्धिको चाहना प्रति प्रतिबद्ध रहेको दर्शाउँछ ।
यो प्रदेशको समृद्धि निःसन्देह देशकै समृद्धि हो । यहाँ पूर्वाधारको विकास भएको छ । यहाँ भएका पूर्वाधारका आधारमा गरिने विकास द्रुत गतिमा अगाडि बढाउनु पर्छ । यहाँ फस्टाएको सेवा व्यवसायलाई अन्य प्रदेशमा विस्तार गर्नुपर्छ । देशभरिकै ठूलो जनसंख्या भएको प्रदेश नम्बर दुई यसको दक्षिणमा पर्छ । प्रदेश नम्बर २ देशको ठूलो बजार नजिक भएकाले यहाँको बजारलाई उपयोग गरी प्रदेश ३ ले उत्पादनबाट अधिकतम लाभ प्राप्त सक्छ । शिक्षा, स्वास्थ्य लगायतका सेवाको गुणस्तरीय सेवा प्रदेश नम्बर ३ मै रहेको छ ।
अझ बढी विश्वसनीय गुणस्तरीय सेवाको विस्तार गर्न यहाँ भौतिक पूर्वाधार अन्य क्षेत्रको तुलनामा बढी उपलब्ध छ । विभिन्न प्रदेशको विकासका लागि चाहिने आवश्यक लगानी विस्तारको जिम्मा यो प्रदेशले लिनुपर्छ । यो प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा हरेक प्रदेशको हिस्सेदारी भएकाले आर्थिक समृद्धिका लागि यो प्रदेशले सहयोग गर्छ र गर्नुपर्छ । अन्यथा प्रदेशहरूबीचको सहकार्यमा कमी आइ किचलो उत्पन्न हुन्छ । किचलोमा आर्थिक समृद्धि सम्भव हुँदैन ।
प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी बानियाँले पटनाबाट हेटौडामा दुई घण्टाभित्र पर्यटक ल्याउन सकिने गरेको विश्वास प्रदेशबीचको सहकार्यबाट मात्र सम्भाव हुन सक्छ । यो भनेको जो जे जेमा जतिको समृद्ध त्यसकै अनुपातमा समृद्ध प्रवाह गर्नुपर्छ । समृद्धि व्यक्तिको ताप शक्ति हो तापशाक्तिको प्रसारण बढीबाट कमतिर जाने गर्छ । त्यसैले प्रदेश नम्बर ३ को समृद्धि स्वाभाविक रूपमा कमजोर प्रदेशतर्फ जानेछ । सीप र दक्षताको प्रचुरता यो प्रदेशमा भएकाले यसको प्रसार पनि अन्य प्रदेशहरूमा हुनु स्वाभाविक छ ।
तर स्थानीय तह, प्रदेश तह र संघीय तहबीच स्पष्ट किटानी हुन बाँकी रहेको प्राकृतिक स्रोत साधनको बाँडफाडँसम्बन्धी विवाद सक्दो चाँडो समाधान गर्नुपर्ने आवश्यकता सबै भन्दा महत्वपूर्ण रहेको जनप्रतिनिधिहरूको मागलाई अन्यथा भन्न मिल्दैन । राजनीतिक दल र संघीय सदनमा प्रतिनिधित्व गर्ने ठूला दलको व्यवहारमै असल हुनु आवश्यक छ । सत्तापक्षका लागि यो बाटोमा अघि बढ्नु आवश्यक छ अन्यथा प्रमुख प्रतिपक्षी नेता बानियाँले भनेजस्तै सरकार चलाउन पाउने यो अवसर सत्तापक्षको हातबाट गुम्यो भने फर्किन सहज हुने छैन । सरकार चलाउन पाउने अवसर सत्तारूढ दलको हातमा नफर्के पनि त्यतिञ्जले देशको दुगर्ति भइसक्ने छ, यसको हेक्का सबैले राख्नैपर्छ ।