कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५
1620

रुकुम पूर्व पुथाउत्तरंगा गाउँपालिकाको बुकिपाटन क्षेत्रमा यार्सागुन्बा सुरक्षाका लागि ६ सय युवा खटाइएको छ । जेठ पहिलो साताबाट यार्सा संकलनको तयारी गएपछि त्यस क्षेत्रमा यार्सा सुरक्षामा युवा खटाइएको हो ।
वैशाख ५ देखि बुकीको यार्सा सुरक्षाका लागि युवा परिचालन गरिएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनले जानकारी दिए । प्रहरीको सुरक्षासहितको एको उक्त युवा टोलीले टोलीले यार्सा सिजनका लागि औपचारिक रूपमा खुला नगरिँदै यार्सा चोरी हुनबाट रोक्ने छ । यार्सा टिप्न सर्वसाधारण बुकिपाटन नपुगेसम्म सम्पूर्ण सुरक्षाको जिम्मा तिनै युवाको हुन्छ । प्रत्येक वर्ष जेठको पहिलो साताबाट यार्सा टिप्न समितिले खुल्ला गर्दै आएको छ ।

“ठयाक्कै खुल्ला गर्ने दिन त तोकेका छैनौं, केही दिनमा बस्ने बैठकले निर्णय गर्छ,” अध्यक्ष पुनले भने, “सामान्यतया जेठ पहिलो साताबाट टिप्ने गरी बुकी खुलाउने बुझाई समितिले बनाएको छ ।” पुथाउत्तरगंगा गाउँपालिका १ र २ नं. वडाको पुपाल, अरविजा, जंगला, पूर्वाङ, भित्रिवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायतमा यार्सा पाइन्छ । त्यस क्षेत्रका सर्वसाधारणको मुख्य आम्दानीको स्रोत यही यार्सा संकलन हो । एक सिजनमा उनीहरूले वर्षभरका लागि घर, पढाइलगायत अन्य व्यवस्थापनका लागि आम्दानी गर्नुका साथै अन्य खर्च जुटाउँछन् । महिना दिनसम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा टिपेरमात्रै ३० हजारदेखि ५ लाखसम्म कमाउने स्थानीय भरत पुनले बताए । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन् । उनीहरू पुथाउत्तरगंगा र सिस्नेको भू–भागसहित डोल्पासम्म पुग्ने गरेको पुनको भनाइ छ ।
यस सिजनमा यार्सा टिप्ने एक व्यक्तिले एक हजार ५ सयका दरले कर तिर्नुपर्छ । यसरी संकलित रकम व्यवस्थापन समितिले सिजनभर भैपरी आउने खर्च व्यवस्थापन र गाउँको विकास निर्माणमा लगाउने गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका १ र २ का वडावासीलाई भने बुकीमा निःशुल्क प्रवेश दिइन्छ । सर्वसाधारणले आफूले भेटाएको यार्सा बुकीमै बिक्री गर्छन् । १ किलो यार्सा खरिद गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा २५ हजार राजस्व तिर्नुपर्छ । सिजन व्यवस्थापन समितिलाई पनि छुट्टै रकम तिर्नुपर्छ । समितिले यस वर्ष स्थानीयबाहेक बाहिरबाट आउने ठेकेदारका लागि शुल्क तोकेको छैन । सबै यार्सा संकलक ठेकेदार बुकी पुगेपछि मात्रै यसबारे निर्णय हुने समितिले जनाएको छ । यस वर्ष स्थानीय व्यापारीले २० हजार शुल्क तिर्नेछन् ।
-मेगराज खड्का