कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५
2508

सरकारले सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकाको ठोकर्पा सामुदायिक वनलाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका रूपमा घोषणा गर्ने तयारी गरेको छ । २०७३ जेठ १८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सिन्धुपाल्चोकलाई सामुदायिक वनको उद्यम जिल्ला र ठोकर्पालाई सामुदायिक वन अनुसन्धान तथा अध्ययन केन्द्र बनाउन उपयुक्त ठानी सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
केन्द्र सञ्चालनका लागि करिब १७ करोड रुपैयाँ अनुमानित लागत लाग्ने जिल्ला वन कार्यालय सिन्धुपाल्चोकले बताएको छ । सरकारले भने ३० लाख रुपैयाँमात्रै बजेट विनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा ठोकर्पा सामुदायिक वन अनुसन्धान तथा अध्ययन केन्द्र सञ्चालनका लागि आवश्यक कार्यक्रम राख्ने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपालले वन संरक्षणका पुराना नीतिलाई हटाएर नेपालको आर्थिक समृद्धिमा वनको योगदान बढाउन आवश्यक रहेको बताएका छन् । “ठोकर्पालाई सामुदायिक वन अनुसन्धान तथा अध्ययन केन्द्र बनाउने निर्णय त भयो, यसले सामुदायिक वन विकासलाई अझै टेवा पुराउँछ, पर्यापर्यटन वृद्धि हुनेछ,” उनले भने, “तर यहाँ बाटोघाटोको राम्रो सुविधा छैन, न होटल लजको व्यवस्था छ, पर्यापर्यटनका लागि आवश्यक सुविधा निर्माण गर्नु जरुरी छ ।”
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सरकारले प्रमुख रणनीतिको रूपमा अन्तर्राष्ट्रिय सामुदायिक वन अनुसन्धान तथा अध्ययन केन्द्र सञ्चालनको कामलाई अगाडि बढाउने निर्णय भएको बताए । “ठोकर्पाको सामुदायिक वनलाई नै अन्तर्राष्ट्रिय सामुदायिक वन अनुसन्धान तथा अध्ययन केन्द्र बनाउने कि भनेर यो सुरुवाती छलफल मात्रै भएको हो, अझै पनि विस्तृत रूपमा छलफल गरेर अगाडि बढाउन जरुरी छ,” उनले भने, “अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमात्रै बनाएर भएन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ, आवश्यक बजेट र प्रविधिक जनशक्तिको खाँचो हुन्छ ।”
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ठोकर्पालाई सामुदायिक वन अन्तर्राष्ट्रिय अनुसन्धान तथा अध्ययन केन्द्र बनाउन सके पर्यटकीयस्थल बन्ने दाबी गरेका छन् ।
सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत राजु क्षेत्रीले अध्ययन केन्द्र बनाएपछि आवश्यक पर्ने नियमित बजेटको व्यवस्था कसरी गर्ने ?, भन्ने विषयमा छलफल गरेर निष्कर्ष निकालिने बताएका छन् । “यस आर्थिक वर्षबाट केन्द्र स्थापना गरिने छ, आवश्यक मोडालिटिको विषयमा छलफल गर्न सामुदायिक वन अन्तर्राष्ट्रिय अनुसन्धान तथा अध्ययन केन्द्र सञ्चालनसम्बन्धी सारोकारवालाको उपस्थितिमा गोष्ठी आयोजना पनि गरिने छ,” उनले भने ।


सातामा धेरै पढिएको