कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५
3999

समृद्ध शैलुङ गाउँपालिका बनाउने चुनावी नारा लिएर भरत दुलाल मत माग्न जनता माझ पुगे । उनको घोषणापत्र र प्रतिबद्धतालाई जनताले पत्याए, गाउँपालिका अध्यक्षमा विजयी पनि गराए । उनले कार्यभार संहालेको एक वर्ष बित्यो तर भोट माग्नु अघिको सडकको अवस्थामा कुनै सुधार भएन ।
देशको पुनर्संरचना अनुसार तीन तहको सरकारमध्ये स्थानीय तहको सरकार प्रमुख दुलाल आफैं हुन् । तर ठेकेदारले सडकको काममा टेर पुच्छर नलगाउँदा उनको घोषणापत्र र प्रतिबद्धता एक वर्षसम्म सपनामै सीमित भयो । गाउँपालिका अध्यक्ष भएलगत्तै उनको प्राथमिकता पनि आफ्नो गाउँपालिकाको लाइफ लाइनको रूपमा रहेको मुडे–मेलुङ सडक सुधार गर्न पहल गरे ।

सडक सुधार गर्नका लागि ठेकेदारसँग हार गुहार गरे, ठेक्का लगाउने डिभिजन सडक कार्यालय चरिकोटमा पटकपटक ताकेता गरे । सडक विभाग पुगे, संघीय सरकारका विभागीय मन्त्रालयका सचिवदेखि मन्त्रीसम्म भेटे । प्रदेश सरकारका पूर्वाधार मन्त्रीदेखि मुख्य मन्त्रीसमेत भेटे तर उनको जोड बल केही लागेन ।
मंगलबार शैलुङ–८ भैंसेमा विद्यालय भवन उद्घाटनमा आएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि शैलुङको मुख्य समस्या नै भएको औंल्याए । ठेकेदारले काम नगर्दा अलपत्र सडकको समस्या सल्याउन उपराष्ट्रपति समेत गुहारे । डेढ वर्ष अघि पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल घ्याङ आउँदा पनि सोही समस्या तेस्र्याएका थिए । तर गाउँपालिकाभित्र अरु पूर्वाधारका कामहरू आफैं खटेर जोडबलका साथ गरे पनि गाउँपालिकाको मुख्य सडक नै जीर्ण भएर गाडी चल्न नसक्ने भए पनि अरु कामको केही नहुने उनको ठम्याइ छ ।

सडकको प्रगति
सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे मेलुङ सडकअन्तर्गत निगाले बजारबाट १६ किमि सडकको स्तरोन्नतिको काम ठेकेदारको चरम लापरबाहीका कारण ४ वर्ष अघि ठेक्का लागेको हो । २०७१ साल असार २९ गते १० करोड ३१ लाख ४९ हजार ७४९ मा ०७२ असार मसान्तसम्ममा पूरा गर्ने गरी सम्झौता भए तापनि थप भएको २ वर्षसम्म २६ प्रतिशतमात्र प्रगति भएको छ ।
ठेकेदार कम्पनी द कञ्चन जंघा लामा विल्डर्स जेभी, सुकेधारा काठमाडौंले कामको जिम्मा लिएको हो । काम सम्पन्न गर्ने गरी ठेका लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेपछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो ।
पछिल्लो पटक भूकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेका डिभिजन कार्यालय दोलखाले जनाएको छ । त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौताअनुसार ठेकेदारले सडक स्तरोन्नति अन्तर्गत १६ किमि सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेल लगायतको काम गर्नुपर्ने हुन्छ । तर हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउने कामबाहेक अन्य काम नगरेको स्थानीयहरू गुनासो गर्दछन् ।
“वर्षात्को समयमा त सडकमा धान रोपे पनि हुन्छ, हिउँदमा पनि सिमसिम पानी आउनासाथ मोटर चल्दैन,” शैलुङ–४ का वडाध्यक्ष ध्रुव श्रेष्ठले भने, “केही दिन यता पानी पर्न थालेकाले मेडबाट उता बस जानै छाड्यो ।” यो सडकबाट शैलुङ गाउँपालिकाका १० वटा वटा, मेलुङ गाउँपालिकाका ५ वटा वडा, रामेछापको दोरम्बा गाउँपालिकाका ३ वटा वडाले यही सडक प्रयोग गर्छन् ।
विशेषगरी शैलुङ गाउँपालिकाको लाइफ लाइन यो सडक नबन्नाले शैलुङ गाउँपालिकाले प्रत्यक वडामा पुग्नका लागि खनेको १० वटा सडक पनि अर्थहीन बन्न पुगेको दुलालको भनाइ छ । “हामीले गाउँपालिकाको बजेटबाट प्रत्येक वडामा पुग्नका लागि करिब ५० किमि ७ मिटर चौडा सडक बनाएका छौं तर के गर्नु यो सडक नबनेसम्म ती सडक राम्रा बनेर मात्र के गर्नु ? सबै सडक जोडिने त त्यही सडकमा हो,” दुलालाले दुःखेसो पोखे ।
डिभिजन कार्यालय चरिकोटका डिई अशोक तिवारीले आफूले सम्पर्क गर्दा म्याद धेरै पहिले नै सकिए तापनि ठेकदार कम्पनीले काम गर्छु मात्र भनेको तर काम चाहिँ नगरेको बताए । काम गरेको रनिङ विलबमोजिमको रकम दिन कार्यालयमा रकम नभएकाले दिन नसकिएको पनि उनले स्वीकार गरे । तर डिभिजन सडक कार्यालयको लेखा स्रोतले भने कार्यालयले भुक्तानी गर्नका लागि रकम अभाव भएकोले ठेकेदारले हालसम्म भुक्तानीका लागि विल पेस नगरेको बताए ।