कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५
5914

उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलाशले नेपालगन्ज उपमहानगरको सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिन आदेश दिएलगत्तै नगरको मुख्य बजार सदरलाइन सडक किनारका सबै संरचना हटाउन सुरु गरिएको छ ।
अदालतको आदेश आएलगत्तै सदरलाइन सडक निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिन नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि नै सडक किनारका सम्पूर्ण संरचना भत्काउन सुरु गरेको थियो । सो कार्य हाल पनि जारी छ ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशले सदरलाइन सडक निर्माणकार्यलाई रोक्न नमिल्ने भन्दै निर्माणलाई निरन्तरता दिनको लागि आदेश दिएको थियो । सो आदेसको कार्यान्वयनका लागि सोही दिनदेखि नै उपमहानगरपालिकाले डोजर लगाएर सडक किनारका सडकपेटी, बरण्डा, सिढीं, पर्खाललगायतका संरचना धमाधम भत्काइरहेको छ ।
सदरलाइनका घरधनी पार्वतीदेवी तमोलीसहितका १४ जनाले नेपालगन्ज उपमहानगरपालिका, सहरी विकास परियोजना, नेपालगन्ज उद्योग वाणिज्य संघलाई विपक्षी बनाई अदालतमा निर्माण रोक्नु पर्ने भन्दै मुद्दा दायर गरे पनि अदालतले निर्माणकार्य रोक्न नपर्ने गरी आदेश दिएको हो । सदरलाइनको त्रिवेणीमोडदेखि नगर भवनसम्मको १४ मिटर चौडा सडक खाली गर्न गराउन सूचित गरिए पनि घरधनीले अटेर गरेपछि उपमहानगरपालिका बाध्य भएर संरचना हटाउन लागि परेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बताए । उनले सदरलाइनका अधिकांश घरधनीले विकास निर्माणमा सहयोग गरे पनि केहीले मात्र अवरोध सिर्जना गरेकोमा उनीहरूलाई अदालतले तह लगाएको बताए । अदालतको आदेशपछि अब दिनरात धमाधम अनावश्यक संरचना भत्काउने र नाला निर्माण गर्ने उनले जनाए ।
जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु गरिएको सडक अवरोध संरचना भत्काउने कार्य त्रिभुवन चोकसम्म पुग्ने छ भने त्रिभुवन चोकबाट सुरु गरिएको अवरोध भत्काउने कार्य नगरभवनसम्म पुग्ने छ ।
निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न हाल आएर थप तदारुकता देखाइएको उपमहानगरले जनाएको छ । सडक किनारका संरचना डोजरमार्फत भत्काइदा नगर प्रमुख डा. राणा, उपप्रमुख उमा थापामगर, आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जन, वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।


सातामा धेरै पढिएको