कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५
2660

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको कार्यक्रममा आउने क्रममा पक्राउ परेका छन् । यसैगरि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ । यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्।
तर, उपभोक्तालाई मर्का पारेर बार्गेनिड गर्न खोजेको भन्दै सरकारले यसअघि नै कडा कारवाही गर्ने बताइसकेको थियो ।

उनीहरले गाडी ग्यारेजमा थन्काएपछि गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा गाडी ग्यारेजमा थन्क्याई सर्वसाधारणलाई सास्ती दिएको भन्दै यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै देशका विभिन्न ठाउँबाट एक सयभन्दा बढी व्यवसायी पक्राउ परिसकेको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन् ।
यस्तै, संघीय गृहमन्त्रालयकाे निर्देशन बमाेजिम जिल्लास्थित सुरक्षा युनियटहरूले पनि धमाधम यातायात व्यवसायी पक्राउ गरिरहेका छन् । गृहमन्त्री थापाको निर्देशनपछि सुरक्षा अंगका जिल्ला युनिटले धमाधम व्यवसायी पक्राउ गर्न थालेकाे गृह मन्त्रालयले बताएको छ ।
बिहीबार आन्दोलनरत यातायात व्यवसायी महासंघसँग अबेरसम्म भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तत्काल आन्दोलन स्थगित नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका थिए ।
अत्यावश्यक सेवा बन्द गरे सरकारले जफत गरेर सञ्चालन गर्नसक्ने तथा बन्द गर्नेलाई कारबाही गर्ने व्यवस्था राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । “सरकारले गरेको व्यवस्थाअनुसार सेवा बन्द गर्नेलाई कारबाही गरी सेवा प्रवाहका लागि आवश्यक तयारी भइरहेको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, “त्यसरी बन्द गर्ने सवारीको रुट पर्मिट खारेजसमेत गरिनेछ ।” 
समितिसंग आबद्ध यातायात ब्यवसायिले यातायात बन्द गरेपनि साझा यातायातसहित अन्य ५० भन्दा बढी कम्पनीहरूले सेवा सञ्चालन गरिरहेका छन् । राजधानीमा साझा, महानगर, मयुर, अन्नपूर्णलगायतले बस चलाइरहेका छन् । तर, उनीहरुको सेवा अपर्याप्त देखिएको छ ।
यसैबिच सिन्डिकेट चलाउँदै आएका सबै यातायात समितिहरुको बैंक खाता सरकारले रोक्का गर्ने भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको बैठकले उनीहरुको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो।
खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने भएको छ। साथै सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय समेत भएको छ।