कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
383

गोरखा–आँबुखैरेनी सडक खण्डको बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । गोरखा नगरपालिकाको १० लाख रुपैयाँको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्र गोरखाले गोरखा– आँबुखैरेनी सडक खण्डको मुख्यमुख्य बजारमा ३१ वटा सिसी क्यामेरा जडान गरेको हो ।
वडा नम्बर १३ को अबुवा बजार, वडा नं १२ को अबुवा, वडा नं ११ को १२ किलो बजार तथा वडा नम्बर ५, ६, ७ र ८ को बजार क्षेत्रमा क्यामेरा जडान गरिएको सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिए । अहिले जडान गरिएको सिसी क्यामेराबाट अबुवा बजार, १२ किलो बजार, खोलखोले, चाइनिजधारा, पेट्रोल पम्प, हरमटारी, कालिमाटी चोक, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, बीपीचोक, धारापानी, रोहटेपानी, तल्लो मैदान हुँदै चिल्ड्रेन पार्कको निगरानी गर्न सकिनेछ ।
साथै पदेली, ठूलो आँगन, तीनधारे, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशाल बसपार्क र लोकतान्त्रिक चोकसम्मको सुरक्षा ब्यवस्था हेर्न मिल्ने गरी क्यामेरा विस्तार गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । “समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पु-याउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको हो,” उनले भने । केन्द्रले गोरखा नगरपालिकालाई र नगरपालिकाले जिल्ला प्रहरी कार्यालय गोरखालाई योजना हस्तान्तरण गरेको छ । गोरखा नगरपालिकाको आर्थिक सहगोगमा केन्द्रले यसअघि वडा नम्बर ६, ७ र ८ को मुख्य सडक क्षेत्रमा ३७ वटा क्यामेरा जडान गरेको थियो । आगामी वर्ष बाँकी क्षेत्रमा सिसी क्यामेरा जडानका लागि बजेट ब्यवस्थापन गर्ने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।