कृञ्जला पुलामी
सोमवार, असार २९, २०७७
395

सिन्धुलीका सामुदायिक वनहरूमा साढे ४ लाख क्युफिटभन्दा बढी काठ जंगलमै कुहिन थालेका छन् । वैज्ञानिक वन कार्यक्रम लागू भएका सामुदायिक वनका काठ निकासीमा सरकारले रोक लगाएपछि जंगलमै अलपत्र परेको काठ कुहिने अवस्थामा पुगेको हो ।
जिल्लाका २ वटा वन डिभिजन कार्यालय अन्तर्गतका सामुदायिक वनमा ४ लाख ६३ हजार क्युफिट काठ अलपत्र परेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीले जनाएको छ । वन डिभिजन कार्यालय मरिणको ४४ र वन डिभिजन कार्यालय सिन्धुली अन्तर्गतका ४३ सामुदायिक वनमा काठ अलपत्र परेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले बताए । काठ निकासीमा रोक लागेपछि डिभिजन वन कार्यालय सिन्धुलीबाट कटान आदेश लिएको २ लाख २७ हजार क्युफिट काठ र डिभिजन वन कार्यालय मरिणबाट कटान आदेश लिएको २ लाख ३६ हजार क्युफिट काठ निकासी हुन नसकेको श्रेष्ठले जानकारी दिए ।

“८७ वटा सामुदायिक वनले वन व्यवस्थापनका क्रमका कटान आदेश लिई काटेका काठ निकासीमा रोक लागेपछि अलपत्र परेको छ ।” श्रेष्ठले भने, “उपभोक्ताले आपतकालीन अवस्थामासमेत काठ लिन पाएका छैनन्, वर्षाले गर्दा काठ कुहिन थालिसक्यो ।” कटान गरी जंगलमा रहेका र घाटगद्दीसमेत गरेका ती काठको आन्तरिक खपतसमेत रोकिएपछि काठ जंगलमै नास हुने अवस्थामा पुगेको छ,” उनले भने ।
सरकारले काठ दाउरा निकासीमा लगाएको रोकले वनमा काठ अलपत्र पर्ने, कुहिने तर उपभोक्ताले नपाउने अवस्था रहेको श्रेष्ठले बताए । जंगलमा काठ भए पनि उपभोक्ताले काठ दाउरा नपाएको भन्दै उनले आन्तरिक खपतमा समेत रोक लगाउदा दैनिक जीवनमा असर गरेको उनको भनाइ छ ।
सरकारले जेठ १५ गते कुनै पनि काठको निकासी गर्न नदिने निर्णय गरेको थियो । सरकारले वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा काठको कटान र तस्करी भएको भनी काठ निकासी रोकी छानबिन सुरु गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि मात्र काठ खुल्दा उपभोक्तालाईसमेत मार पर्ने भएकाले आन्तरिक खपतलाई नियमित गर्नुपर्ने वन महासंघका बाग्मति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
उनले गलत काम गरेका वनको छानबिन गरेर अन्यलाई आन्तरिक खपतमा लगाइएको रोक हटाउनुपर्नेमा जोड दिए । वर्षाको समयमा सबै काठ कुहिने र ओसारपसारमा समेत समस्या हुने उनले बताए ।