दिलबहादुर केसी
सोमवार, असार २९, २०७७
280

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा गोलाकारमा तिलक पोखरी बनेको छ । गोडर खोला र गुम्फा आपोको बीच भागमा पोखरी तयार भएको छ । पोखरीको अन्तिम कामका लागि अहिले पनि कामदारहरू काम गर्दै आएका छन् । पोखरीले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ ।
पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन गरी तयार गरिएको भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिए । अहिले चरिकोट भ्यू टावरदेखि सिंढी सहित तयार गरिएको गोरेटो बाटो पनि पोखरीमै जोडिन्छ । यसले चरिकोटबाट भ्यूटावर पुग्नेहरूलाई थप एक घण्टा जंगलको बाटो झर्दा राङराङथली पुग्न सहज भएको छ ।

राङराङथलीलाई थामी जातीको उद्गम थलोको रुपमा मानिन्छ । यहाँ अहिले पनि थामी जातिले परम्परागत भुमे पूजा गर्दै आएका छन् । यहँ नेपालकै पहिलो थामी संग्रहालय निर्माण हुने भएको छ । २५ रोपनी क्षेत्रफलमा निर्माणाधीन संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ ।
डीपीआरअनुसार संग्रहालयमा अत्याधुनिक थिएटर हल, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बाल बगैंचा, फाउन्टेनपार्कलगायत संरचना बन्ने छन् । २० करोड रुपैयाँको लागतमा बन्ने संग्रहालय संसारभरका पर्यटकको आकर्षणको केन्द्र बन्नेछ । डीपीआर अनुसार नै पोखरी निर्माण भएको हो ।
तिलक पोखरीले संग्रहालयलाई थप मनमोहक बनाउनेछन् । डिपिआर अनुसार जंगलमा बुर्कुस्सी मार्दै चरेका मृगको हुल संग्रहालयको अर्को विशेषता हुनेछ । कालिज, डाँफे र जुरेलीको बथानले रूखको डाली चहारेका दृश्य संग्रहालयको थप सम्पत्ति हुनेछन् ।
नगरपालिकाको मात्रै बजेटले डिपिआरअनुसारको संग्रहालय बन्न निकै मुस्किल पर्ने देखिन्छ । राङराङथली थामी जातिको ऐतिहासिक थलोलाई पहिचान गरेर संग्रहालय बनाउन लागिएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताए । संग्रहालय बन्ने ठाउँ अत्यन्तै सुन्दर ठाउँमा छ । डीपीआरअनुसार संग्रहालय बन्न नगरपालिकाको बजेटले पुग्दैन । यसका लागि संघीय र प्रदेश सरकारको सहयोग आवश्यक पन मेयर केसीले भने ।
संग्रहालय निर्माण स्थलसम्म सडक पुगेको छ । छेउमै जोडिएको जंगललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रुपमा विकास गरिएको छ । थोरै क्षेत्रमा ५० प्रजातीभन्दा बढी सुनाखरी भेटिएको इन्जिनियर सुरेश राउतले बताए । पदमार्ग २ किलोमिटर छ ।
भीमेश्वर नगरपालिकाले संग्रहालयको निर्माण कार्य दुई वर्षअघिबाटै सुरु गरेको हो । यस अवधिमा नगरपालिकाले ५५ लाख रुपैयाँभन्दा धेरै खर्च गरिसकेको छ । अहिलेसम्म संग्रहालयका लागि अत्यावश्यक तीनवटा भवन बनिसकेको छ । संग्रहालयबीच हुँदै बग्ने गोडर खोलालाई व्यवस्थित तुल्याइएको छ । गुम्फा आपोको जंगल रसाएर बनेको तिलक पोखरीको संरक्षण गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष मात्र संग्रहालय निर्माणमा ३० लाख रुपैयाँ बजेट खर्च गरेको छ ।
‘बजेट भए संग्रहालय निर्माणका सम्पूर्ण काम पाँच वर्षभित्रै सकिने थियो । तर, यति ठूलो रकम हामीसँग छैन ।’ इन्जिनियर राउतले भने । अहिलेसम्म पूर्वाधार निर्माणको काम भएका छन् । अब मुख्य गरी संग्रहालयको काम गर्नु पर्ने अवस्था रहेको उनले बताए ।
थामी जातिका पुर्खाले बस्ती बसालेको भग्नावशेष संग्रहालय निर्माणस्थलमा फेला परेको उनको भनाइ छ । ‘थामी जातिको पुर्खा यही ठाउँमा आएर बसेको प्रमाणित भएको छ । यहाँ भेटिएका भग्नावशेषले यसलाई पुष्टि गरेको छ । त्यसवेला प्रयोग गरिएको चुलो, पानी पिउनका लागि प्रयोग गरिएको पोखरी, बस्न प्रयोग गरिएको ओढार यहाँ फेला परेका छन् । यही ठाउँमा संग्रहालय निर्माण हुनु अत्यन्तै राम्रो पक्ष हो,’ भीमेश्वर नगरपालिका १ का वडाअध्यक्ष वीरबहादुर थामीले भने ।