कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
497

संखुवासभा-निरन्तरको वर्षात्का कारण संखुवासभाको उत्तरी क्षेत्र भोटखोलाका सबै वडाका ढुवानीको मुख्य साधन खच्चड नै हो । हिउँदमा करिब २ दिनको पैदल दूरीमा पर्ने भोटखोलाको बरुण दोभानसम्म गाडीले ढुवानी गर्दा सहज भए पनि वर्षात्का कारण अहिले त्यस क्षेत्रमा कुनै पनि सवारी साधन चल्न नसक्दा भोटखोला पूर्णरूपमा खच्चडकै भरमा पुगेको हो । केही वर्ष अघिसम्म डाँडा काँडामा सामान ढुवानीको एकमात्र साधन खच्चड पछिल्लो समय विस्थापित हुँदै जाँदा ढुवानीमा अहिले समस्या भएको स्थानीय बासिन्दा पेक्मा भोटेको भनाइ छ । त्यस क्षेत्रका अधिकांश खच्चड ब्यवसायी अहिले अन्य पेसामा लागिसकेका छन् ।
आधा वर्ष यातायातका साधन चल्ने भएकाले उक्त हिउँदको समयमा खच्चड ब्यवसायीले काम पाउन नसक्दा ब्यवसायीहरू पेसा परिवर्तन गरी अन्य पेसामा संलग्न भइसकेकाले अहिले ढुवानीमा समस्या भएको उनको भनाइ छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट करिब ५ दिनको पैदल दूरीमा पर्ने किमाथान्का, हटिया, गोला बजारसम्म चिनियाँ सहर रियू र डेन्डाङ् बजारबाट उपभोग्य सामग्री आयात भए पनि भोटखोला र मकालु गाउँपालिकाका अधिकांश क्षेत्रमा हालसम्म सडक सुविधाको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले कष्टकर जीवनयापन गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा सदरमुकामबाट सामग्री पु¥याउन प्रतिकेजी ६० रुपैयाँ बढी ढुवानी भाडा पर्ने गरेको भोटखोलाका रिदार भोटे बताउँछन् ।

सामग्री ढुवानी अत्यधिक महंगो पर्ने भएकाले त्यस क्षेत्रको विकास निर्माण कार्यमा समस्या हुने गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे ठिलेनले जनाए । विकट हिमाली क्षेत्र भएकाले आवतजावतमा समस्या हुँदा त्यस क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा लिनसमेत ३, ४ दिनको पैदल दूरी पार गरेर सदरमुकाम खाँदबारी आउनुपर्ने स्थिति छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीलाई आवतजावतमा समस्या हुने गरेको भोटखोला–१ किमाथाङ्काका वडाध्यक्ष तेञ्छिवी भोटेले बताए । निर्माण सामग्री ढुवानी महंगो पर्ने भएकाले त्यस क्षेत्रको निर्माणकार्य प्रायः शून्य रहेको अध्यक्ष भोटे बताउँछन् ।
सदरमुकाम खाँदबारीबाट करिब ४५ किमिको दूरीमा रहेको मकालु गाउँपालिकाको नुम बजारबाट भोटखोलाका अधिकांश क्षेत्रमा खच्चडबाट सामग्री ढुवानी गर्दा मूल्यको दोब्बर ढुवानी खर्च लाग्ने गरेको स्थानीय ब्यापारी कर्मादोर्ची शेर्पा बताउँछन् । पहाडी र हिमाली क्षेत्रको भौगोलिक विकटताका कारण सामग्री ढुवानीको विश्वसनीय साधनका रूपमा खच्चडको प्रयोग बढ्दै गएकोमा केही वर्ष यतादेखि भने धेरै खच्चड ब्यवसायीले पेसा परिवर्तन गरेकाले समयमा सामग्री ढुवानी गर्न समस्या हुने गरेको स्थानीय ब्यवसायीको भनाइ छ । वर्षात्को समयमा भरियाले समेत सामान बोक्न मान्दैनन् । भारि बोकेर अग्लाअग्ला पहाड छिचोल्नु पर्ने र जुनसुकै बेला माथिबाट पहिरो झर्ने जोखिम भएकाले भरिया नपाउँदा त्यस क्षेत्रका बासिन्दाले आफूलाई चाहिने सामग्री प्रायः आफैंले बोक्नुपर्ने बाध्यता छ ।
मोरंग विराटनगरको रानीदेखि चीनको तिब्बतसँग सिमाना जोडिएको संखुवासभाको उत्तरी बिन्दु जोड्ने उत्तरदक्षिण कोसी राजमार्गले केही हदसम्म मकालु र भोटखोलाका केही क्षेत्रलाई हिउँदमा भने धेरै सहज बनाउने गरेको छ । जिल्ला सदरमुकाम खाँदबारीबाट १७० किमिको दूरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको चांगा र डेन्डाङ् बजारसँग जोड्ने लक्ष्यका साथ खन्न थालिएको उत्तर–दक्षिण कोसी सडकको काम लामो समयदेखि बीचैमा रोकिएकाले सडक सञ्जाल अझै जोडिन सकेको छैन ।
३,४ दिनको दूरीमा रहेको चीनको डेण्डांग सहरबाट भोटखोलाका सबै क्षेत्रमा खाद्यान्न आयात गर्न सहज नभएकाले भोटखोलाका अधिकांश स्थानीयले खाद्यान्नलगायत अन्य दैनिक आवश्यकताका सामग्री सदरमुकाम खाँदबारी, मानेभन्ज्यांग, मकालु गाउँपालिकाको नुम बजारबाट खच्चडमार्फत लाने गर्दछन् । हिउँदमा चल्ने यातायात सेवाका कारण आफूहरूले ६ महिना कुनै काम पाउन नसकिने भएकाले खच्चड पाल्न बढी खर्चालु हुने हुँदा खच्चड ब्यवसाय त्याग्नुपर्ने परिस्थिति आएको भोटखोला–३ का खच्चड ब्यवसायी रिदर खम्बा भोटे बताउँछन् । एउटा खच्चडको दाम कम्तिामा ८० हजारदेखि १ लाखसम्म पर्छ । वर्षात्को समयमा खच्चडसमेत लामो झरिका कारण बिरामी हुने, भीरबाट खस्ने, पहिरोमा परेर मर्ने गर्दा ठूलो आर्थिक भार पर्ने जोखिम भएकाले वर्षात्को समयमा ढुवानी खर्च अत्यधिक बढ्ने गरेको उनको भनाइ छ ।

कृष्णराज शाक्य