अमरराज आचार्य
आइतवार, असार २१, २०७७
372

दाङ-घोराही बजारका उमेशसिंह राठोरले अटो चलाएर आफनो जिविका चलाउँदै आएका थिए । तर, कोरोनाका कारण सरकारले लकडाउन जारी गरेपछि उनले अटो चलाउन पाएका छैनन् । अटो चलाउन नपाए पछि घरको चुल्हो बल्न समेत समस्या भएको छ । उनले अटोबाट भएको आम्दानीले घर व्यवहार चलाउने गरेको बताए । उनले घर, जग्गा धितो राखेर अटो निकालेका थिए । “अहिले अटो नै चलाउन नपाए पछि कसरी घरको चुलो पाल्ने भन्ने चिन्ताले सताएको छ” राठोरले भने । उनले राहात समेत पाउन नसकेको बताए । बाध्य भएर अटो निकालेर सञ्चालन गरे पनि ट्राफिक प्रहरीले समाउने गरेको बताए ।
अर्का अटो चालक लोकबहादुर चलाउनेको समस्या पनि उस्तै छ । शारीरिक रुपमा अपाङ भएका उनले अटोबाट भएको आम्दानीले सम्पूर्ण खर्च चलाउने गरेको बताए । “अटो चलाउन नपाएपछि कसरी घरको चुल्होे बाल्ने भन्ने चिन्ता छ ।” चलाउनेले भने । उनको ५ जनाको परिवार रहेको छ । स्थानीय सरकार तथा अन्य कुनै पनि संंघ संस्थाबाट समेत राहत पाउन नपाउएको उनको भनाइ छ । “अब रोगले भन्दा पनि भोकले मरिने भन्ने चिन्ताले सताउन थाल्यो” चलाउनेले भने । बस्ने घर तथा जग्गा केही नभएकाले थप समस्या भएको उनको गुनासो छ ।

उनले बैंकबाट ऋण लिएर अटो निकालेको बताए । अर्का अटो चालक नरबहादुर मिजारको समस्या पनि उस्तै छ । उनले ६ जनाको परिवार अटो चलाएर पालेका थिए । तर लकडाउनका कारण व्सवारीसाधन बन्द भएपछि परिवार पाल्न समस्या भएको बताए । “अटो चलाउन नपाउँदा आम्दानी छैन, कसैले उधारो दिन पनि मानेका छैनन्” मिजारले भने ।
घरमा खाने खर्च कसरी जुटाउने भन्ने चिन्ता रहेको उनले बताए । हालसम्म उनले कुनै पनि राहात पाउन सकेका छैनन् । अटो किन्दा ल्याएको ऋणको किस्ता तिर्नेका लागि बैकले ताकेता गरेपनि आफूसँग कुनै विकल्प नभएको बताए । ट्राफिक प्रहरीले बजारमा सामान ल्याउन जाँदा समेत समाउने गरेको बताए ।
घर जग्गा धितो राखेर अटो निकालेका राठोरले बैकको किस्ता तिर्ने नसक्दा घर, जग्गा नै जाने हो कि भन्ने चिन्ता रहेको बताउँछन् । “बैकबाट किस्ता बुझाउनका लागि फोन आइरहन्छ कसरी बुझाउने ? उनले भने ।
उनीहरु जस्तै धेरै अटो चालकहरुलाई यस्तै समस्या भोग्नु परेको बताउछन् । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमप्रसाद रेग्मीले यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको कारण नियन्त्रणमा लिइने गरेको बताए । दैनिक नियन्त्रणमा लिएर जरिवान तिराएर छोडने गरेको उनले बताए । दैनिक जोखिम बढदै गएको उनको भनाइ रहेको छ । “अटो चालकहरुबाट गुनासो आउने गरेको छ तर, स्वास्थ्य नै ठुलो कुरा हो ।” प्रमुख रेग्मीले भने ।