कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
697

बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ ।
लकडाउनले गर्दा माग अनुसार कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढ्न गएको हो । बजारमा मासु र अण्डा दुवैको माग उच्च भएपनि सो अनुसार आपूर्ति हुन नसकेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ ।

व्यवसायीका अनुसार जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको छ । हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ । जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पर्न थालेको छ । बुद्धनगरका व्यापारी रमेश श्रेष्ठले उत्पादन कम भएकाले कुखुराको मासु र अण्डाको मूल्य बढ्न गएको बताए । लकडाउनका कारण उत्पादन कम हुँदा बजारमा अभाव भएर मूल्य बढ्न गएको उनको भनाई छ । माग अनुसार उत्पादन नहुँदा मूल्य बढ्न गएको उनको भनाई छ । कोरोना भाइरसको असरले गर्दा पछिल्लो समय कुखुराको उत्पादन बढ्न सकेको छैन ।
गत सातासम्म मासु प्रतिकेजी ३ सय ६० र अण्डा क्रेटको ३ सय ५० रुपैयाँमा रहेको थियो । गत मंगलबारबाट लागू हुनेगरी मूल्य बढेको पोल्ट्री संघले जानकारी दिएको छ ।
पोल्ट्री संघ र कुखुरा पालक किसानले बजारको मागलाई ध्यानमा राख्दै अहिले खोरमा चल्ला हाले पनि तयार भएर बजारमा आउन डेढ महिना लाग्ने व्यवसायीको भनाई छ ।
चितवनमा उत्पादन हुने कुखुरा र अण्डा उपत्यका आइपुग्दा मूल्य बढेर आउने गरेको व्यवसायीको भनाई छ । डिलरलाई नै अण्डा प्रतिक्रेट ३ सय ६५ रुपैयाँ पर्न थालेपछि खुद्रा बिक्रीमा मूल्य बढ्नु स्वभाविक भएको व्यवसायी बताउँछन ।
यसैबीच बजारमा खसीको मासु प्रतिकेजी एक हजार चार सयदेखि एक हजार चार सय १५ रुपैयाँ रहेको छ । लकडाउनका कारण बजारमा खसी ल्याउन नसक्दा मूल्य बढ्न गएको व्यवसायीको भनाई छ ।