कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
473

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ । एक जना भने शनिबार साँझसम्म बेपत्ता छन् ।
वडाध्यक्ष गणेशबहादुर बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र सात वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ ।

यस्तै १५ वर्षीया सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको बोहोराले जानकारी दिए । २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता छन् ।
वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको बोरोहाले जानकारी दिए । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अरुले भागेर ज्यान जोगाए पनि सात जना पुरिएका थिए ।
पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाईगोरु पनि पुरिएका छन् । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा रहेको बोहोराले बताए ।