कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
449

लमजुङमा भारत सहित अन्य देशबाट भित्रनेहरुको संख्या चारसय ३७ पुगेको छ । जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रणका निम्ती गठित क्वीक रेस्पोन्स टिमका अनुसार लकडाउन जारी भएपश्चात हालसम्म भारत सहितका अन्य देशबाट सो संख्यामा स्वदेश फिर्ता भएका हुन् ।
जिल्ला प्रवेश गरेका प्रवासीहरु मध्ये हालसम्म सवैभन्दा धेरै भारतबाट आएकाहरु छन् । क्युआरटीका अनुसार हालसम्म भारतबाट मात्रै जिल्लामा तिन सय आठजना आईसकेका छन् । सो बाहेक एकसय २९ जना भारत बाहेक अन्य देशबाट आएकाहरु हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका क्रममा जिल्लास्तरीय क्वारेन्टाइन बाहेक स्थानिय तहका क्वारेन्टाइनमा मात्रै ५२ जना भारतबाट र २७ जना अन्य देशबाट आएको पाइएको छ । जिल्लास्तरीय क्वारेन्टाइनमा भने हालसम्म दुईसय ५६ जना भारतिय राखिएका छन् भने एकसय दुईजना अन्य देशबाट आएकाहरुलाई राखिएका छन् ।
क्युआरटीको तथ्याँकअनुसार हालसम्म भारत बाहेक जिल्लामा सवैभन्दा धेरै दुवईबाट आएका छन् । दुवईबाट जिल्ला आउनेहरुको तथ्यांक २९ रहेको छ भने सवैभन्दा कम स्पेनबाट एकजना जिल्ला भित्रिएका छन् । हालसम्म साउदीबाट १७ जना, कुवेतबाट १७ जना, मलेसियाबाट नौजना, अमेरिकाबाट सातजना, माल्दिभ्सबाट ६ जना आएका छन् । यस्तै ओमन र बहराईनबाट चार÷चार जना आएका छन् भने जापान र कतारबाट तिन-तिन जना लमजुङ भित्रिएका छन् । अष्ट्रेलियाबाट भने दुईजना मात्रै जिल्ला भित्रिएको तथ्यांक रहेको छ ।
जिल्लाको तथ्यांकअनुसार हालसम्म नेपाली सेनाको निगरानीमा सुन्दरवजारको कृषि क्याम्पसमा रहेको जिल्लास्तरीय क्वारेन्टाइनमा एक सय २८ जना भारतबाट आएका र ५८ जना अन्य देशबाट आएकाहरुलाई राखिएको छ । यस्तै सशस्त्र प्रहरीको निगरानीमा रहेको बेसीशहरको सहजी र भकुण्डे क्वारेन्टाइनमा भने एकसय दुई भारतबाट आएका र १९ जना अन्य देशबाट आएकाहरुलाई राखिएको छ ।
जिल्लामा सशुल्क होटल क्वारेन्टाइन शुरु भएसँगै २६ जना भारतबाट आएका र २५ जना अन्य देशबाट आएकाहरु बसिसकेका छन् । जिल्लामा सदरमुकाम बेसीशहरको गेटवे हिमालयन रिसोर्ट र होटल टुकुचे पिकमा सशुल्क क्वारेन्टाइन शुरु भएको छ ।
जिल्लास्तरीय क्वारेन्टाइन बाहेक स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनहरुमा पनि ५२ जना भारतबाट आएकाहरु बसेका छन् भने २७ जना अन्य देशबाट आएकाहरुलाई राखिएको थियो । स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइन मध्ये सवैभन्दा धेरै मध्यनेपाल नगरपालिकामा ३७ जना भारतबाट र १५ जना अन्य देशबाट आएकाहरु राखिएको तथ्यांकले देखाएको छ ।