कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
455

स्याङ्जा-धान रोपाइँको समय सकिनै लाग्दा पनि रासायनिक मल नपाएपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । असारको मध्यमा धान रोपाइँको चटारोमा जुट्नुपर्ने कृषकहरुले मल नपाएपछि चिन्तित बनेका हुन् ।
सरकारले विभिन्न कार्यक्रम गरेपनि वास्तविक रोपाइँमा लागेका कृषकले भने रासायनिक मल नपाएको गुनासो गरेका छन् । “सबैलाई आ–आफ्नै चिन्ता छ हामीलाई भने रोपाइँ गर्ने समयमा रासायनिक मल पाएका छैनौं” वालिङ् नगरपालिकाकी कृषक मिना काफ्लेले भनिन् ।

एउटै फाँटमा अन्यले रोपाइँ सुरु गरेपछि ट्याक्टरको लागि बाटो समेत नपाइने हुँदा मल नपाएपनि धान रोप्न सुरु गरेको कृषक काफ्लेले बताइन् । वालिङ् नगरपालिकामा कहिँकतै मल नपाएपछि यसै खेत रोप्न सुरु गरेको उनले गुनासो गरिन् । “सधै रासायनिक मल राखेर रोपाइँ गरिन्थ्यो” उनले भनिन्, “अहिले मल नपाएका कारण यसै रोप्न थालिएको छ । खेती कस्तो हुने हो चिन्ता लागेको छ ।”
कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै गएकाले उब्जनीलाई प्रमुख प्राथमिकता दिनुपर्ने बेलामा झन् मल बिनाको खेती गर्नु परेको स्थानीय कृषकको गुनासो छ । नेपालमा मल आपूर्तिको व्यवस्थापन नेपाल कृषि सामग्री कम्पनीले गर्ने भएपनि पछिल्लो समय जिल्लाका लागि आवश्यक पर्ने मल आपूर्ति विभिन्न सहकारीले गर्दै आएपनि हालको कोरोना महामारीका कारण आवश्यक्ताअनुसार मल आपूर्ति हुन सकेको छैन । केही सहकारीलाई मल आपूर्ति गर्ने स्वाकृति दिइसकेकाले केही दिनमै मलको आपूर्ति सहज हुने वालिङ् नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले बताए ।
चालू वर्षमा पानी छिटो परेको हुँदा कृषकले रोपाइँ छिटो गरेको भन्दै एक दुई दिन भित्रमा कृषकले मल नपाए सिधै नगरपालिकामा सम्पर्क गर्न प्रमुख खाँणले कृषकलाई आग्रह गरे । मलको अभावमा कृषकलाई रोपाइँ गर्नबाट बञ्चित नगरिने उनले बताए ।