लक्ष्मण ढुंगाना
बिहिवार, असार १८, २०७७
494

नेपालगन्ज-समयमै पानी परेका कारण यस वर्ष असार १५ अगावै बाँकेमा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । सिँचाइ सुविधा नहुँदा हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य बाँकेका कृषकहरुले यस वर्ष भने समयमै धान रोपाइँ सुरु गरेका छन् । लकडाउनका कारण कृषकहरु फुर्सदिला भएका बेला समयमै पानी पर्नुका साथै कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएकाले यस वर्ष धान रोपाइँले तीव्रता पाएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ४० प्रतिशत रोपाइँ सकिएको छ ।
त्यस्तै बर्दियामा ५० हजार २ सय ५० हेक्टर मध्य ६० प्रतिशत रोपाइँ सकिएको केन्द्र प्रमुख सागर ढकाले जनाकारी दिए । समयमै वर्षात हुनुका साथै कृषकहरुलाई विभिन्न निकायबाट मोटर, पम्पसेट, बोरिङलगायतबाट सिँचाइको उपलब्धता बढेका कारण यस वर्ष छिटो रोपाइँ भएको उनको भनाई छ । हालसम्मको अवस्था हेर्दा बाँके र बर्दियामा असार मसान्तभित्र रोपाइँ सकिने र समयमै रोपाइँ भएका कारण अन्य समस्या नभएमा उत्पादनमा वृद्धि हुने अनुमान रहेको ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
समयमै रोपाइँ गर्न पाएपछि कोरोनाको त्रास जारी रहेका बेला रोपाइँ गर्न किसा व्यस्त छन् । समयमै वर्षा नहुँदा हरेक वर्ष अन्य जिल्लामा रोपाइँ सकिँदा पनि बाँकेमा कृषकका खेत बाँझै हुने गरेका थिए ।