कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
388

लमजुङमा कोरोना रोकथाम र नियन्त्रणका लागि खटिने सवारी चालक र सरसफाई कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको छ । जिल्लास्थित क्राईसिस म्यानेजमेन्ट सेन्टर सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले विदेशबाट आएकाहरुलाई डुम्रे देखि जिल्लाको क्वारेन्टाइन सम्म र क्वारेन्टाइन देखि आईशोलेसनसम्म ओसार पसार गर्ने एम्वुलेन्स तथा सवारी चालकहरुलाई खाजा तथा खानाको लागि खटिएको दिन अनुसार प्रतिदिन पाँचसय रुपैया प्रोत्साहन भत्ता दिने निर्णय भएको हो । बैठकले प्रवासबाट आएकाहरुलाई डुमे्रदेखि जिल्लाका क्वारेन्टाइन सम्म ल्याउनको लागि सुन्दरवजार नगरपालिकाको नगर बस प्रयोग गरिएकोमा उक्त बसका लागी थप एकजना चालक करारमा लिने समेत निर्णय गरेको छ ।

यसैगरी बैठकले जिल्लाका आईशोलेसनमा सरसफाई गर्नका लागि पनि यसअघि सम्वन्धीत अस्पतालमा सरसफाई गरिरहेका कर्मचारीहरुलाई जिम्मा दिने र उनिहरुलाई पनि खाजा खानाको निम्ती प्रोत्साहन भत्ता दिने निर्णय भएको सिएमसीले जनाएको छ ।
बैठकले क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्कनका लागि सम्वन्धीत स्थानिय तहले सवारी साधनको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले प्रवासबाट आएकाहरुलाई तनहुँको डुम्रेमा होल्डीङ सेल्टर बनाउन छिमेकी जिल्ला तनहुँसँग समन्वय गर्ने समेत निर्णय गरेको छ ।
पछिल्लो पटक सुन्दरवजारको आदर्श बाल माविमा निर्माण भएको क्वारेन्टाइन र भक्ति नमूना माविमा निर्माण हुने क्वारेन्टाइन साथै नमूना सामूदायिक अस्पतालको आईशोलेसन कक्ष निगरानीको जिम्मा नेपाली सेनाको श्रीजङ गणलाई दिने निर्णय भएको छ । सदरमुकाम बेसीशहरको जिल्ला समन्वय समितिको सभा हलमा बनाइएको आईशोलेसन नेपाल प्रहरी र भकुण्डेस्थित बालकल्याण माविको क्वारेन्टाइनको निगरानी सशस्त्र प्रहरीले गर्ने समेत निर्णय भएको सिएमसीले जनाएको छ ।
बैठकको निर्णय अनुसार शव व्यवस्थापनमा खटिने नेपाली सेनाको टोलिलाई शव व्यवस्थापन पनि १४ दिनसम्म उपयुक्त होटल क्वारेन्टाइनमा राख्ने र १४ दिन भित्र कुनै संक्रमितको मृत्यु भएमा सोहि टोलिले शव व्यवस्थापन गर्ने भएको छ । जिसस सभाहलको आईशोलेसनमा आवश्यक स्वास्थ्यकर्मीका लागि जिल्लाका स्थानिय तहसँग अनुरोध गर्ने समेत निर्णय भएको सिएमसीले जनाएको छ । आईशोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई उपयुक्त होटल क्वारेन्टाइनमा राखिने निर्णय समेत भएको सिएमसीले जनाएको छ ।
बैठकमा जिसस सभाहल र नमूना सामूदायिक अस्पतालमा निर्माण भएको आईशोलेसन कक्षहरुमा सिसि क्यामेर, वाईफाई, शैया जस्ता आधारभुत सामाग्री यथाशिघ्र तयार गर्ने र संक्रमितहरुको सँख्या बढ्दै गएमा सुरक्षा व्यवस्था, भौतिक पूर्वाधार, स्वास्थ्यकर्मीको उपलब्धतालाई दृष्टिगत गरी उपयुक्त स्थानहरुमा आईशोलेसन कक्ष र क्वारेन्टाइन थप्ने निर्णय भएको सिएमसीले जनाएको छ ।