गोपाल पोखरेल
बिहिवार, असार १८, २०७७
429

उदयपुर-पछिल्लो समय उदयपुरमा पाटी, पौवा र चौतारा निर्माण र प्रयोग गर्ने चलन हराउँदै गएको छ । बढ्दो आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति र परम्परा मानिने पाटी, पौवा र चौतारा निर्माण गर्ने प्रचलन हराउँदै गएको हो ।
करिब पाँच हजार वर्ष अघि युरोपियन र अरवियन व्यापारी नेपालको बाटो हुँदै तिब्बत तथा चीनसम्म व्यापार गर्न जाने गर्दथे । त्यस समयमा नै मानव सेवाप्रति अभिप्रेरित भई बाटोमा वरपिपल रोपेर चौतारा निर्माण गर्न सुरु गरिएको इतिहासविद्हरु बताउँछन् । नेपालमा पनि झण्डै पाँच हजार वर्ष अघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण समेत हुने भएकाले चौतारामा बर पिपलका विरुवाहरु रोप्ने चलन समेत रही आएको छ ।

“सवै धर्मावलम्बीले मानव सेवालाई पुण्य आर्जन मान्दछन्” रौतामाई गाउँपालिका ७ का जीतुहर्क तामाङ भन्छन्,“ मृतक आफन्तको स्मरण र यात्रुको सुविधाका लागि चौतारा निर्माण गर्ने गरिन्छ ।” तर पछिल्लो समयमा ग्रामिण क्षेत्रमा समेत सडक यातायात विस्तार भएपछि पाटी, पौवा र चौताराको निर्माण र प्रयोग हुन छाडेको र भएकाको पनि संरक्षण हुन नसकेको उनले बताए ।
“ चौतारा गर्मीयाममा आराम गर्न, गाउँमा हुने सभा वैठक आयोजना गर्न, बटुवाले बास बस्न प्रयोग गर्न महत्वपूर्ण मानिन्छ” चौदण्डीगढी नगरपालिकाका भोजराज खतिवडाले भने, तर, पछिल्लो समय यातायातको विकाससँगै चौताराको प्रयोग हुन छाडेको छ ।” यातायातको विकासपछि बाटो हिँड्ने सर्वसाधारणको संख्या नगन्य हुँदा चौतारा प्रयोगबिहीन बन्दै गएको उनले बताए ।
प्रयोगमा आउन छाडेकै कारण पनि धर्म र संस्कृतिसँग जोडिएको वरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय मासिदै गएको स्थानीय बताउँछन् । पछिल्लो समय यातायातको विकाससँगै मृतक आफन्तको स्मरणमा चौतारा र पाटी पौवा निर्माण गर्नेको संख्या घट्दै गएको छ । भरियाले भारी बोक्दा र बटुवाले बाटो हिड्दा बास बस्न प्रयोग गर्ने चौताराको अहिले यातायातको विकाससँगै प्रयोग र संरक्षण पनि हुन छाडेको छ ।
“यातायातलगायत भौतिक पूर्वाधार निर्माणका क्रममा चौतारा र पाटी पौवा समेत अतिक्रमणको चपेटामा परेका छन्” कटारी नगरपालिकाका रामकुमार राई भन्छन्, “बनेका पाटी, पौवा र चौतारा प्रयोगमा नआएपछि यसतर्फ नयाँ पुस्ताको आकर्षण घट्दै गएको छ ।” भएकाको पनि संरक्षण नहुँदा वरपिपलका ठूलाठूला चौतारा केही समयपछि इतिहासमा सिमित हुने अवस्था आउने राईको भनाई छ । घरमा दिन काट्न नसकेर वरपिपलको चौतारामा बसेर विगतदेखि वर्तमानसम्मका तितामिठा अनुभव समेटिएका गफगाफ गरेर दिन विताउने बुढापाकाहरुका लागि सहरी क्षेत्रमा समेत चौतारा आवश्यक रहेको उनी बताउँछन् ।