कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
523

लकडाउनको सदुपयोग 

लमजुङ-कोरोना भाइरसको संक्रमण जोखिमसँगै जारी लकडाउनका बेला लमजुङका कृषकहरु अलैंची खेती विस्तार तथा गोडमेलमा जुटेका छन् । व्यवसायिक अलैंची खेती हुँदै आएको जिल्लाको उत्तरी भेगका कृषकहरु अलैंची बगानमा गोडमेलसँगै नयाँ विरुवा रोप्न व्यस्त भएका हुन् ।
लकडाउनले अधिकांश सर्वसाधरणको जनजिवन प्रभावित भएपनि जिल्लाका अलैंची कृषकले भने यो समयलाई भरपुर सदुपयोग गरेको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । यसअघि पढाई र रोजगारीका लागि सदरमुकाम तथा अन्य शहरमा बस्दै आएकाहरुपनि लकडाउनको समयलाई सदुपयोग गर्न गाउँ फर्किएको अध्यक्ष तामाङको भनाई छ ।

“शहर बजार सबैतिर सुनसान छ, तर अलैंची खेती हुने पाखा पखेरोमा भने भ्याइनभ्याई छ” अध्यक्ष तामाङले भने, “शहरमा बस्दै आएकाहरुपनि अलैंची गोडमेलका लागि गाउँ फर्किएका छन् ।”
यतिबेला अलैंचीका नयाँ विरुवा रोप्ने तथा बगान गोडमेल हुने समय भएकोले कृषकहरु अलैंची बगानमा व्यस्त भएका हुन् । यसअघि मूल्य गिरावटले छाएको निराशा र अन्य कारणले अलैंची बगानको राम्रो स्याहार नगर्नेहरु पनि लकडाउनका कारण फुर्सद भएपछि अलैंची बगान सुधारमा लागि परेका छन् ।
“यसपाली धेरै पुराना बगैंचाहरु पनि गोडमेल भएका छन्” अध्यक्ष तामाङले भने, “आगामी वर्ष उत्पादन झनै बढ्ने अपेक्षा छ ।”
लमजुङमा करिव १२ सय हेक्टर क्षेत्रफलमा व्यावसायीक अलैची खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लमजुङले जनाएको छ । हाल जिल्लामा कृषकहरुको सकृयता र कार्यालयको अनुदान समेत रहेकाले थप दुईसय ५० रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार हुने भएको छ ।
कार्यालयका निमित्त प्रमुख हरी मिजारका अनुसार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैंची जोन अन्तर्गत कृषकहरुका लागि नयाँ विरुवा रोप्न तथा उत्पादनका लागि ६ लाख रुपैयाँ बजेट रहेको र त्यसमा कृषकहरुको ६ लाख रुपैयाँ थप गरी अनुदान साझेदारीमा अलैंची खेती विस्तार गर्न लागिएको हो ।
“अलैंची खेती विस्तारका लागि ६ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम छ” निमित्त प्रमुख मिजारले भने, “यसवर्ष मात्रै दुईसय ५० रोपनी अलैंची खेती विस्तार हुने अपेक्षा गरेका छौं ।”
जिल्लामा हाल करिव तीन लाख नयाँ विरुवा उत्पादन भएको र सबै विरुवा जिल्ला भित्रै खपत हुने भएको छ । अलैंची व्यवसायी महासंघ लमजुङका अनुसार जिल्लाको मस्र्याङदी गाउँपालिका अन्तर्गत छिनखोला, बेसीशहरको खाँचे, क्व्होलासोँथारको घाम्राङ लगायतका ठाउँमा व्यावसायीक अलैंची नर्सरी रहेका छन् ।
अलैंची विरुवाका लागि हाल सरकारी मूल्यदर अनुसार प्रतिविरुवा ५ रुपैयाँ रहेको छ । जिल्लामा उत्पादित अलैंचीका सबै विरुवा बिक्री भए अलैंचीका विरुवाबाट मात्रै नर्सरी किसानले १५ लाख रुपैयाँ आम्दानी गर्ने देखिन्छ ।
यसअघि लमजुङमा उत्पादित अलैंचीका विरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । तर यसपटक भने लकडाउनको प्रभाव र जिल्लाभित्रै अलैंची खेतीको विस्तार हुने भएपछि सबै विरुवा जिल्लाभित्रै खपत हुने भएको छ । लमजुङको अलैंची गुणस्तरीय भएको भन्दै यसअघिका वर्षहरुमा अन्य जिल्लामा अत्याधिक विरुवा निर्यात हुने गरेको थियो ।
यो वर्षपनि अन्य जिल्लाबाट लमजुङको अलैंची विरुवा माग भएको तर जिल्ला भित्रै खपत हुने र लकडाउनका कारण निर्यात गर्न नसकिने अवस्था रहेको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।
पछिल्ला वर्षहरुमा अलैंचीको मूल्यमा आएको गिरावटले निरास बनेका कृषकहरु हाल लकडाउनका कारण अन्य पेशा व्यवसायमा लाग्न नपाएपछि गाउँ फर्किएर अलैंची बगान गोड्ने तथा नयाँ विरुवा रोप्न थालेका छन् । अघिल्ला वर्षहरुमा स्याहार नपाएका अलैंची बगानहरु पनि यस वर्ष गोडमेल गरी उत्पादन बढाउने लक्ष्य राखिएको कृषकहरुले बताएका छन् ।
५–६ वर्षअघि लमजुङमा अलैंचीको मूल्य प्रतिकेजी दुई हजार भन्दा बढि थियो । सोहि अलैंची अहिले प्रतिकेजी छ सयको हाराहारीमा झरेको छ । प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर, मूल्यमा भने गिरावट हुँदै आएपछि कतिपय कृषकले अलैंची बगान गोडमेल नगरी त्यसै छाड्ने समेत गरेका थिए ।
लमजुङको बेसीशहरसहित मस्र्याङदी, क्होलासोँथार, दुधपोखरी, दोर्दी लगायतका गाउँ पाखाहरुमा व्यावसायीक अलैंची खेती हुँदै आएको छ । जिल्लाका अलैंची कृषकहरुले अलैंची उत्पादन हुने क्षेत्रहरुलाई समेटेर अलैंची जोन कार्यक्षेत्र घोषणा गरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन हुँदै आएको छ ।

सन्देश पौडेल