कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
545

बझाङमा धानको बेर्ना फौजी कीराले सखाप पारेपछि कृषक चिन्तित बनेका छन् । रोपाइँ नजिकिएसँगै बेर्नामा कीराको प्रकोप देखिएपछि जिल्लाको बुगल नगरपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा, दुर्गाथली गाउँपालिकाका कृषक चिन्तित भएका छन् । करिब एक सातादेखि धानको बेर्नामा फौजी कीरा लागेर नष्ट गर्न थालेपछि उनीहरू चिन्तित भएका हुन् ।
दिउँसो घाम लागेको बेला बेर्नाको फेदमा बसेको हुन्छ । धेरै कीरा एकै पटक बेर्नाको पातमा बसेर टुप्पाबाट खान सुरु गरेको दुर्गाथली गाउँपालिका–१ का नारायण बडुले बताए । उनका अनुसार फौजी कीरा बिहान र बेलुकीको समयमा लाग्ने गरेको छ । धानको बेर्ना राम्रोसँग टुसाउन नपाउँदै कीराले चरेर सखाप पारेको हो । अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीराको प्रकोप फैलिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

“बेर्ना पनि फौजी कीराले नष्ट गरेको छ । पहिले त थाहै पाइएन अब रोपाइँ गर्ने समय नजिक आउँदा बेर्ना सखाप पारेको छ” स्थानीय किसान मदनराज चिमाडीले भने, “टाढाबाट हेर्दा राम्रै देखिन्छ । नजिक जाँदा त बेर्नाको पात सखाप पारेको छ ।” भर्खरै टुसाउन थालेको बेर्ना कीराले खाएपछि यहाँका कृषकहरू भोकमरी हुने चिन्तामा छन् । जिल्लाका अधिकांश पालिकाहरूमा रोपाइँ गर्ने समय नजिकिँदै छ । रोपाइँको मुखमा बेर्ना सखाप पर्दा किसानहरू रोपाइँ गर्ने कि मकै छर्ने भन्ने अन्योलमा परेका छन् । कतिपय किसानहरूले उत्पादन धेरै हुने आशमा हाइब्रिड जातको धानको बेर्ना पनि लगाएका थिए ।
अन्य ठाउँमा लगाइएको धानमा प्रकोप फैलिन नदिन विषादी छर्कने कार्य भइरहेको छ । प्रकोप फैलन नदिन तत्कालका लागि कीरा मार्ने औषधि हालिएको छ । सम्भावित प्रकोप रोक्न निमजन्य, मालाथिनलगायतका विषादी वितरण गरिएको कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख दिलबहादुर सिंहले बताए । “अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीरा गरी दुई प्रकार कीराको प्रकोप फैलिएको छ” उनले भने, “जिल्लाका ५-६ गाउँपालिकाबाट बेर्नामा कीरा लाग्यो के गर्न सकिन्छ फोन आएको छ ।”