मनोरञ्जन शर्मा
बिहिवार, जेठ २२, २०७७
2515

पहिलो वर्षमै फलेपछि दंग छन् कृषक 

भैरहवा-तराईको पनि उच्च गर्मी हुने क्षेत्र भैरहवामा स्याउबारी भन्ने सुन्दा सबैलाई अचम्म लाग्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा फल्ने स्याउ भैरहवाजस्तो गर्मी स्थान जहाँ तापमान नै ४६ डिग्री सेल्सियससम्म पुग्छ, त्यहाँ कसरी सम्भव छ भनेर आश्चर्य लाग्नु पनि स्वाभाविक हो । तर, सबैलाई यस्तै अचम्ममा पार्दै भैरहवाका युवा कृषक आशा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ भुजौलीमा गत वर्षदेखि सुरु गरेको स्याउ खेतीले उत्साहजनक परिणाम दिइरहेको छ । उनको स्याउ फार्ममा अहिले फल पनि लाग्न थालिसकेको छ ।

कृषि कर्ममा केही नयाँपन गरौँ भन्ने उद्देश्यले लुम्बिनी अग्र्यानिक फर्म एन्ड रिसर्च सेन्टर स्थापना गरी पृथक व्यवसायमा होमिएका गुरुङको स्याउबारीमा ५ सय ५० वटा स्याउका रुख रहेका छन् । उनी भन्छन्, “तीन वर्षमा फल्छ भन्ने लागेको थियो तर पहिलो वर्षमा नै धेरैमा फूल फुल्यो भने केहीमा फलसमेत लाग्यो, अब अर्को वर्ष भने राम्ररी फल्छ भन्ने देखिन्छ ।”
स्याउबारीमा अष्ट्रेलियन नानो प्रजातिको बिरुवा ल्याएर रोपिएको छ र यो प्रजातिको बिरुवामा ४८ डिग्री तापमानमा पनि फल लाग्ने गर्दछ । आफूले केही नौलो कृषि कर्म गरौं भनेर यस्तो स्याउ खेती सुरु गरेको गुरुङको भनाइ छ । पहिलो वर्षमै फल लागेको तथा अर्को वर्ष प्रतिबिरुवा २५ केजी र तेस्रो वर्षमा प्रतिबिरुवा १ सय केजीसम्म स्याउ फल्ने अपेक्षा गुरुङको छ ।
अन्य स्याउहरू असोज महिनाबाट फल्न सुरु हुने भए पनि यो प्रजातिको स्याउ भने पुसको तेस्रो साताबाट फल्न सुरु गरी जेठसम्म फलिसक्छ । अन्य सिजनको स्याउ फलेर सकिँदा मात्र यसको सिजन सुरु हुने भएकाले अफ सिजनमा बजारमा स्याउ पठाउन सकिने र बजारको कुनै समस्या नै नरहने उनको भनाइ छ । आरु र स्याउलाई कलमी गरी यो प्रजातिको स्याउको बिरुवा तयार भएको र गर्मी हुने नेपालका तराई क्षेत्रमा यसको खेती धेरै सम्भावनायुक्त पनि रहेकोले आफूले थप स्याउ खेती गर्ने सोचमा रहेको उनको भनाइ छ । कृषक गुरुङ बिरुवा समेत तयार गरी बिक्री गर्ने योजनामा छन् । अहिले यो खेती गर्दा एक बिरुवा खरिद गरी ल्याएर खाडल खनी मलजल गर्दा मजदुर खर्चसहित करीब २ हजार ५ सय रुपैयाँ प्रतिबोट प्रारम्भमा लगानी भएको गुरुङको भनाइ छ ।
नेपालका विभिन्न कृषिविज्ञ, फलफूलविज्ञ लगायतले तराई क्षेत्रमा स्याउ खेती सम्भावना नै नभएको भनेर यो खेती नगर्न सुझाउँदा सुरुमा आफू केही सशंकित भए पनि त्रासका बीच खेती सुरु गर्दा सफल भएको उनले बताए । स्याउको बिरुवा दिने विदेशी कम्पनीले पनि सुरुमा परीक्षणका रुपमा ५० वटा बिरुवा लगेर परीक्षणका रुपमा गर्न सुझाव दिएको थियो । तर, आफूले जोखिम मोलेरै व्यावसायिक रुपमा स्याउ खेती सुरु गरेको गुरुङको भनाइ छ ।
सरकारबाट प्रवद्र्धनात्मक नीति आएमा कृषकहरूलाई सजिलो हुने भए पनि सरकारको मुखै ताकेर बसे कृषि कर्ममा सफल हुन नसकिने गुरुङको भनाइ छ । तराईको उच्च गर्मीमा स्याउसहितको अन्य फलफूल र कृषि कर्मको योजना उनले २ दशकअघि जर्मनमा रोजगारीमा रहँदै देखेका थिए । त्यति बेलाको सपना पूरा गर्न बेलायतको पीआरसमेत छाडेर यहिँ बसेका गुरुङगको फर्ममा उनले विभिन्न फलफूलसँगै अग्र्यानिक तरकारीहरू फलाएर बिक्री गर्दै आएका छन् । चिसो मौसममा फल्ने स्ट्रबेरीको व्यावसायिक खेती समेत उनले गत वर्षदेखी सुरु गरी आकर्षक आम्दानी लिन सफल भएका थिए ।