मीनकुमार नवोदित
आइतवार, जेठ १८, २०७७
370

सरकारले लकडाउनको समयमा पनि कृषिजन्य उत्पादन सहज रूपमा बजारसम्म पु-याउन दिने भने पनि वास्तविकता त्यस्तो छैन । कृषि उत्पादन बजारसम्म पु-याउन स्थानीय तहले गरेको सिफारिसलाई बेवास्ता गर्दै जिल्ला प्रशासनले पाससमेत नदिने गरेको पाइएको छ । प्रशासनले पास नदिएकै कारण सुनसरीको बराहक्षेत्र–५ मा विदेशबाट फर्किएका युवाले उत्पादन गरेका स्थानीय जातका कुुखुरा खोरमा लगाएको ७ महिना बित्दा पनि बिक्री हुन सकेको छैन ।
मोरङ डाँगीहाटका नरबहादुर कटवालले ९ महिना अघि सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा फर्म सुरु गरे । त्यो पनि उपभोक्तामाझ अत्यधिक माग रहेको स्थानीय जातको कुखुरा । १४ वर्षसम्म विदेशमा बस्दाको पीडाका कारण स्वदेशमै केही गरौं भन्ने उत्साहका साथ स्थानीय जातको कुखुरा पालन व्यवसाय सुरु गरेका थिए कटवालले । तर, दुई महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण कटवालको उत्साह यतिबेला निराशामा परिणत भएको छ । चार महिनाभित्र बिक्री गरिसक्नुपर्ने कुखुरा ७ महिनासम्म पनि बिक्री हुन सकेको छैन । जसका कारण हरेक दिनजसो लागत बढ्दै जाँदा लगानी पनि नउठ्ने चिन्ताको जाँतोमा उनी पिसिएका छन् । अझ दाना नपाउँदा थप समस्या झेल्नुपरेको उनको भनाइ छ । “बजारमा दानाको चरम अभाव छ” उनले भने, “खोरमा लगाएको ४ महिनाभित्रै बिक्री गर्दा राम्रै मुनाफा हुन्थ्यो । तर, अहिले ७ महिनाभन्दा बढी भयो खोरमा लगाएको । जसका कारण दाना खुवाएर पाल्नुपरेको छ ।”

५ विघा जमिन लिजमा लिएर कुखुरा फर्म सुरु गरेका कटवालको फर्ममा हाल १२ सय कुुखुरा छन् । उत्पादित कुखुरा बजारसम्म पु-याउन नगरपालिकाले सिफारिस दिए पनि जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको उनको गुनासो छ । “स्थानीय तहले बजारसम्म पु-याउन सिफारिस दिन्छ । अनि त्यो सिफारिसलाई जिल्ला प्रशासनले मान्दैन,” उनले दुखेसो पोख्दै भने, “सबै स्वास्थ्य सुरक्षा अपनाएर बजार पु-याउने प्रतिबद्धता जनाउँदा पनि जिल्ला प्रशासनले पास दिन सकिँदैन भन्यो ।”
उनले विदेशबाट फर्किएर उत्साहका साथ व्यवसाय सुरु गरे पनि अहिले निराश हुनुपर्ने अवस्था आएको बताए । बिक्री गर्न प्रशासनबाट पास नपाउँदा र बजारमा दानाको समेत अभाव हुँदा कुखुराको तौलसमेत घटेको कटवालले दुखेसो पोखे । कटवालले अहिले कुखुराको सास मात्रै बचाउने काम गरिरहेको बताए । दाना अभावमा भोकले रन्थनिएका कुखुरा कटवालले चारो छर्ने बित्तिकै तँछाडमछाड गर्दै चारो खाना झुम्मिन्छन् । “लकडाउनभन्दा अगाडि २ किलोभन्दा बढी तौल पुगेको थियो,” अर्का व्यवसायी पदम कार्कीले भने, “अहिले त कुखुराको तौल १ किलो ५ ग्राममा झरेको छ । सास बचाउने काम मात्रै भइरहेको छ ।”
कटवालसहित विदेशबाट फर्किएका पदम कार्की, निरोज कार्की, केशव खड्का र योगेन्द्र भट्टराईले यो फर्म सञ्चालन गरेका हुन् । कोही कतार, कोही दुबई र कोही दक्षिण अफ्रिकामा एक दशकदेखि डेढ दशकसम्म लामो समय पसिना बगाएर फर्किएका युवा हुन् । उनीहरूको योजना कुखुरामा मात्रै सीमित छैन । उन्नत जातको बाख्रा र टर्कीका लागि बनाउन सुरु गरेको खोर पनि लकडाउनले अधुरै रहेको छ । कुखुराका साथै माछा, बंगुर, हाँस, बट्टाई, टर्की, गाई पनि पाल्ने योजना रहेको उनले सुनाए । हालसम्म फर्ममा २५ लाख रूपैयाँ लगानी भइसकेको छ । पहिलो लटकै कुुखुरा बिक्री नभएकाले एक रूपैयाँ पनि लगानी नउठेको कटवालले बताए । “यो कुखुरा बिक्री गर्न पाएको भए अर्को लटसमेत तयार भइसकेको हुन्थ्यो अहिलेसम्म,” कार्कीले थपे, “चार–चार महिनामा कुखुरा उत्पादन गर्ने योजना थियो ।” अझ अण्डा र चल्लासमेत फर्ममै उत्पादन गर्ने योजना छ उनीहरूको । ५ विघामध्ये आधाभन्दा बढीमा मकैसमेत लगाएका छन् । त्यही मकैबाट आफैंले मेसिन ल्याएर दाना उत्पादन गर्ने योजना रहेको अर्का व्यवसायी योगेन्द्र भट्टराईले सुनाए ।
विदेशबाट फर्किएर कृषि कर्ममा लागेका युवालाई उत्साहित बनाउन सरकारले बजारीकरण गर्न पहल गर्नुपर्ने युवा अभियानकर्मी नवराज काफ्ले बताउँछन् । कुखुरा बिक्रीका लागि सहजीकरण गरिरहेका काफ्लेले प्रश्न गर्दै भने, “यस्तो अवस्थामा कसले कृषिमा लगानी गर्छ ?” उनकै शब्दमा अब सरकारले बोलेर होइन गरेर देखाउने बेला आएको छ । “कुुखुराको मासुमात्रै होइन अन्य कृषि उत्पादन बजारमा अभाव छ यतिबेला,” काफ्लेले भने, “तर, कृषकले लाखौं लगानी गरेर उत्पादन गरेका उत्पादन बिक्री नभएर लगानी डुबेर पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।”