कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
412

मुगु- लामो समयसम्म लकडाउनले सताइरहेको बेला मुगुको सोरु गाउँपालिका–९ बस्ने देवी जैसीले सामाजिक सुरक्षाभत्ता घरमै पाएपछि निकै खुसी छन् ।
सरकारले विगतका वर्षदेखि पूर्णअपांग व्यक्तिलाई प्रतिमहिना ३ हजार, आंशिक अपांगलाई प्रतिमहिना १६ सय, एकल महिलालाई प्रतिमहिना २ हजार, जेष्ठ नागरिकलाई प्रतिमहिना ३ हजार, कर्णाली जेष्ठ नागरिक ६० वर्षभन्दा माथिकालाई प्रतिमहिना २ हजार, बालभत्ता प्रतिमहिना ४ सय, यस क्षेत्रमा सामाजिक सुरक्षाभत्ता दिँदै आएको छ ।

पछिल्लो समयमा विश्वभरि फैलिरहेको कोराना भाइरस नेपालमा पनि फैलिरहेको समयमा सरकारले गरेको लकडाउनको समयमा एक गाउँबाट अको गाउ बस्तीसम्म जानसमेत गाह्रो भएपछि सोरु गाउँपालिका–९ का वडासचिव जनकबहादुर बुढा कोरोनाको डर नमानी वडामा रहेका सबै घरघरमा गई आव ०७६-७७ को दोस्रो चौमासिक सामिजिक सुरक्षावापत भत्ता वितरण गर्दा स्थानीयबासी खुसी भएका छन् ।
०७६-७७ सालको दोस्रो सामाजिक सुरक्षाभत्ता सोरु गाउँपालिकाबाट निकासा भइसकेको हुँदा गाउँपालिकाभित्र रहेका १ देखि ११ वडासम्म सामाजिक सुरक्षा भत्ता पाउने स्थानीयबासीको घरघरमा गएर वितरण गर्न सबै वडासचिवलाई निर्देशन दिएको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले बताए ।