कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
1150

गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ र ८ बुंकोटमा मकैबालीमा फौजी किराको प्रकोप देखा परेको छ । दुवै वडाको करीब १० हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
दोहोरो गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप देखा परेको कृषि शाखाका प्रमुख ऋषि रोकाले जानकारी दिए । “फौजी किराको प्रकोप भर्खरै सुरु भएको पाइएकाले यसलाई नियन्त्रणमा लिन सकिन्छ होला” उनले भने, “करीब १० प्रतिशत मात्र क्षति छ । हामीले फौजी किरा मार्न किसानलाई विषादी दिएका छौैं । विषदी प्रयोगको तरीका पनि सिकाएका छौं । नियन्त्रणमा आउने विश्वास छ ।”

प्रतिपोका ५ ग्रामको ५ सय पोका विषादी किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख रोकाले जानकारी दिए । मात्रा मिलाएर विषादी प्रयोग गर्न उनले किसानलाई आग्रह गरेका छन् । उनका अनुसार १५ लिटर पानीमा एक पोका विषादी मिसाएर बालीमा स्प्रे गर्नुपर्छ ।
फौजी किराले मकैको गुबोमा बढि आक्रमण गर्ने भएकाले गुबो र पातमा राम्रोसँग स्प्रे गर्नुपर्ने उनको भनाई छ । पहिलो चरणमा मकैमा स्प्रे गर्दा किराको प्रकोप नियन्त्रणमा नआएमा थप उपचार गर्नुपर्ने भएकाले कृषि शाखामा सम्पर्क गर्न उनले किसानलाई आग्रह गरे । पहिलो चरणमा किरा नियन्त्रणमा आएमा मकैको उत्पादनमा खासै असर नपर्ने रोकाले जानकारी दिए । “अहिले नियन्त्रणमा आयो भने केहि हुँदैन” उनले भने, “नियन्त्रण गर्न सकिएन भने उत्पादनमा केहि अस पर्ला ।”
मिचाहा प्रवत्तिको फौजी किराको लार्भाले मकै मात्रै नभई धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउलीबाली, भटमास, प्याज, गोलभेडा, आलु जस्ता बालीहरुमा पनि क्षति पु-याउने भएकाले खेतबारीमा नियमित अनुगमन गरी सचेत रहन कृषि शाखाले आग्रह गरेको छ ।
फौजी किराको लार्भा सुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको र टाउको कालो रंगको र हुर्कंदै जाँदा शरीर खैरो र टाउको गाढा खैरो रंगको हुन्छ । यस्ता किरा बालीमा देखिएमा जानकारी दिन उनले आग्रह गरे ।
कृषि विज्ञहरुका अनुसार फौजी किरालाई खपटे किरा लगायत भाइरसले पनि मार्छ । त्यसैले एकीकृत शत्रुजिव व्यवस्थापनको आधारमा फौजी किरा नियन्त्रण गर्दा दीगो हुने उनीहरुको सुझाव छ । यस्तै, डेस्मोडियम घाँसको गन्ध यो किरालाई मन नपर्ने भएकाले बालीको बीचबीचमा यो घाँस लगाउन पनि विज्ञहरुले सुझाएका छन् । नेपियर घाँसले किरालाई आकर्षण गर्ने भएकाले खेतबारीको छेउछाउमा यो घाँस लगाइ किरा आकर्षण गरी विषादी प्रयोगबाट पनि मार्न सकिन्छ ।