कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
415

महेन्द्रनगर-कोरोना भाइरस संक्रमणबाट बच्न गरिएको लकडाउनका बेला भारतमा अलपत्र परेका नेपाली नागरिकलाई प्रवेश खुला भएको छ । दिनानुदिन छिमेकी मुलुक भारतबाट लुकिछिपी घर भित्रिने नेपालीको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारबाट पश्चिमी नाका गड्डाचौकीबाट प्रवेश खुला गरेको हो ।
“कञ्चनपुर जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रबाट लुकिछिपी नेपाल आउने क्रम बढेको अवस्था छ ।” प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न सीमा नाकाबाट नेपाली भित्रिँदा कोरोना जोखिम बढेकोमा समस्याको हल स्वरुप गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भारतबाट आउने नेपालीलाई भित्रयाउने निर्णय गरिएको हो ।”
प्रजिअका अनुसार नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिको डाटा संकलन गरेर सम्बन्धित ठाउँमा पु-याउने कार्य भइरहेको उनले बताए । “नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिककोे विस्तृत विवरण संकलन गरेर स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश गराइएको छ, तापक्रमको बढी समस्या भएमा तत्काल थप चेकजाँच गरेर अस्पताल लैजान पूर्ण तयारी भएको अवस्था छ ।” प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, “नेपाल प्रवेश गर्ने नेपाली नागरिकको स्थायी ठेगाना रहेको स्थानमा क्वारेन्टाइनमा राखिने निर्णय भएपछि नाका खोलेर नाकामा अलपत्र नेपालीलाई सहजता होस् भनेर नेपाल प्रवेश गराइएको हो ।”
नाका भने औपचारिक रूपमा खोलिएको नभएर भारतबाट नेपाल आएका नेपाली नागरिक सीमा क्षेत्रमा अलपत्र भएका कारणले उहाँहरूको सहजताका लागि नाका खोलिएको उनले बताए । “कोरोनाको कहरमा नागरिक जुनसुकै देशको भए पनि सुरक्षित गनुपर्छ भन्ने मान्यता रहेकोमा त्यसको निरन्तरता स्वरुप व्यावहारिक रूपमा नेपाली र भारतीय पक्षबीच समन्वय गरेर नाका खोलिएको छ । नेपाल आउन भनेर भारतको विभिन्न सहरबाट हिँडेका नेपाली नागरिकलाई प्रवेश गराउनु पर्ने चौतर्फी दबाब आयो । भारतीय पक्षले पनि दबाब दिएपछि दुवै पक्षको समन्वयमा नाका खोलेर करिब १५ सय बढी नेपाली नागरिकले नेपाल प्रवेश गरिसकेका छन्,” उनले भने, ।
प्रशासनले भने गएको पाँच दिनयता जिल्लाको अरु नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई दिउसोसँगै राति पनि भित्रयाएको थियो । लुकुछिपी गरेर अरुनाकाबाट आउने नेपाली नागरिकको क्रम नघटे पछि सीमामा रोकिएका नेपाली नागरिकको सहजताका लागि गड्डाचौकी नाकाबाट प्रवेश गराइएको प्रजिअ खतिवडाले बताए ।
सीमा नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई सहजता स्वरुप मंगलबार (आज)देखि निश्चित समयतालिका मिलाएर नेपाली नागरिकलाई प्रवेश गराइने छ । सोमबार दिउँसो १२ बजेदेखि गड्डाचौकी नाका खोलिएको थियो भने मंगलबारदेखि भने बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई प्रवेश गराइने छ ।

युवाले नाकामै खुवायो खाना
कञ्चनपुरको पश्चिमी सीमाबाटा सोमबार करिब १५ सय बढी नेपाली नागरिक भित्रिएका छन् । ति भित्रिएका नेपाली नागरिकलाई यहाँको युवाको संयुक्त टिमले खाना खुवाएको छ । महिनौदेखि लकडाउनको समयमा दुःख पाएका नेपाली नागरिकलाई सहयोग स्वरुप खाना खुवाइएको हो । सीमामा अलपत्र नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले नेपाल–भारत सीमा क्षेत्रसम्म पु-याएपछि प्रशासनले गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पश्चिमी सिमाना गड्डाचौकीमा भारतमा अलपत्र परेका नेपाली नागरिकको स्वास्थ्य परीक्षण पश्चात नेपाल प्रवेश गराइँदै । तस्बिर ः कारोबार

 

चन्द्रकान्त जोशी