कारोबार संवाददाता
सोमवार, जेठ १२, २०७७
432

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरलाई अब राहातको सट्टा श्रममा लगाउने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनबाट पीडित बनेका श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रमका आधारमा राहतको ब्यवस्था गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले दोस्रो चरणको राहत श्रममा आधारित भएर वितरण गर्ने निर्णय गरिएको अध्यक्ष अर्जुन गुरुङले बताए । यसअघि पहिलो चरणमा गाउँपालिकाले एक हजार दुई सय परिवारलाई राहत वितरण गरिसकेको छ ।

बैठकले गाउँपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय क्षेत्र, अत्यावश्यक सेवा प्रवाह गर्ने ब्यापार ब्यवसायले स्वास्थ्य सुरक्षाका लागि साबुनपानी, मास्क, स्यानिटाइजरको ब्यवस्था गर्नुपर्ने जनाएको छ ।
अत्यावश्यक वस्तु ओसारपसारका लागि प्रयोग हुने सवारी साधन आवश्यकताको आधारमा सम्बन्धित वडाध्यक्षको सिफारिसमा मात्र चल्न दिइने भएको छ । खाद्यवस्तुको नाउँमा सावरीसाधनले मानिस ओसारपसार गरेको जनगुनासो बढेपछि नियन्त्रणका लागि वडाध्यक्षहरूको सिफारिसमा मात्र चल्न दिने ब्यवस्था गरिएको उपाध्यक्ष होमबहादुर विकले बताए ।
गाउँपालिकाभित्र रहेका खाद्यान्न, औषधि पसलको अनुगमन तथा लकडाउनलाई कडाइका साथ पालना गराउन अनुगमन बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।