प्रकाश लम्साल
शुक्रवार, जेठ ९, २०७७
524

बारा-लकडाउनसँगै सरकारले संक्रमण नियन्त्रणका लागि स्थानीय बजार बन्द गराएसँगै बाराका किसानले आफनो उत्पादन सोझै उपभोक्ताको घर आगनमै पु-याउन थालेका छन् । हाटबजार बन्द भएपछि बिचौलियाहरु कृषि उत्पादन खरिद गर्न नआएपछि आफना उत्पादन लिएर किसान नै उपभोक्ताको घरघरमा डुलाउँदै बिक्री गर्न थालेका छन् ।
यसअघि तरकारी घर घरै डुलाउन थालिएसँगै एक सातादेखि पोखरीबाट झिकेर जिउँदो माछा सोझै उपभोक्ताको घरमा पु-याउन थालिएको हो ।

नेपाल मत्स्य व्यवसायी संघ बाराका पूर्व अध्यक्ष जंगबहादुर साहले लकडाउनले किसानलाई बिचौलियाबाट छुटकारा दिलाई आफ्नो कमाइको मुनाफा आफैंले लिन सिकाएको भन्दै रोजगारी बढ्ने र जिउँदो माछाको स्वाद घरमै लिने मौका मिलेको बताए ।
संघले लकडाउन पछि हाट बजारमा मात्र सिमित नगरी तरकारी जस्तै व्यवस्थित रुपमा घरघमा पु-याउनेबारे छलफल भइरहेको नेपाल मत्स्य व्यवसायी संघले जनाएको छ । किसानले बिचौलिया बिना आफ्नो उत्पादन थोरै मेहनत गरेर स्थानीय बजार क्षेत्रका गाउँघरमा डुलाउँदा मूल्यमा दुवै पक्षलाई फाइदा हुने देखेपछि संघले यस्तो बिक्री शैलीलाई निरन्तरता दिने सोच बनाएको साहले बताए ।
उपभोक्ताले जिउँदो माछा घर आँगनमै सोझै किसानसँग खरीद गर्दा मूल्यमा पनि राहत पाएपछि यो प्रक्रिया किसानका अन्य उत्पादनमा पनि अवलम्बन गर्दा किसान र उपभोक्ता दुवै ठगिनबाट बच्ने समाजसास्त्रका अध्यापक कृष्ण सिग्देलले बताए । उनले हरियो मकै घर बजारमै डुलाउँदै गर्दा खरीद गरी खान पाए पछि लकडाउनले कृषकमा चेतना समेत जगाएको बताए ।
लकडाउनका समय सरकारले भिडभाड हुने गरेका कारण हाटबजार बन्द गरेपछि उपभोक्ताहरुले यस अघि सबै खाले तरकारी, मकै, च्याउ, कुरिलोसँगै जिउँदो माछा पनि किसानसँग सोझै खरीद गर्न पाएका हुन् ।
जिउँदै माछा समेत खरीद गर्न बजार पुग्नु पर्ने अवस्था अब अन्त्य हुने बताउँदै अध्यक्ष साहले भने, “किसानले आफ्ना उत्पादन घरआँगनमै सेवा दिन थालेपछि उत्पादन क्षेत्रका बेरोजगार युवाहरुले समेत काम पाउने अवसर सिर्जना भएको र अब जिउँदो माछा लिन बजार जानु पर्ने अवस्थाको अन्त्य हुने दावी गरे ।
किसानले सोझै उपभोक्ताको आगनमै माछा पु-याएपछि बिचौलिया समेत बन्द भई उपभोक्ताले सोझै किसानसँग खरीद गर्न पाउँदा मूल्यमा समेत कमि आएको छ भने किसानले समेत राम्रो मूल्य पाउन थालेको छ ।
लकडाउनमा कृषि उत्पादनलाई सरकारले बिक्री वितरण सहज वातावरण बनाएसँगै माछा सिमरा, पथलैया, जितपुर, निजगढ, डुमरवाना, अमलेखगञ्ज र भित्री ग्रामीण क्षेत्रमा लगायतका स्थानका घरमै पुगेर जिउँदै माछा किसानले साता यता बिक्री थालेको हो ।
माछा सुपर जोनको रुपमा सरकारले घोषणा गरेको बारा जिल्लाको उत्पादित माछाहरु देशभर र सीमावर्ती भारतीय बजारमा बिक्रीका लागि जाने गर्दछ उक्त क्षेत्रका बिचौलियाहरु यतिबेला माछा खरीद गर्न बारा नआएपछि उत्पादित जिउँदो माछा बोकेर किसान आफैं उपभोक्ताको घरैमा पुगेको हो ।
६ हजार ७ सय ६८ वटा माछा पोखरी रहेको यस जिल्लामा हाल दैनिक जिउँदो माछा २५ देखि ३० क्वीन्टल र छरी, सिंग्गल फ्राई माछा, ३५ देखि ४० क्वीइन्टल जिल्लामा खपत भइरहेको छ । यस बाहक यस अघि जिउँदो माछा १० देखि १५ क्वीन्टल माछा जिल्लाबाट काठमाडौं र पोखरा जाने गर्दथ्यो ।
बारामा विशेषगरी रोहु, नैनी, ग्रास कपन, बिग्रेड जातका माछाहरु उत्पादन हुने गर्छ भने कलैया उपमहानगर, कोहल्वी नगरपालिका, सिम्रौनगढ नगरपालिका लगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछा पालन व्यवसायमा आवद्ध रहेका छन् ।