कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७
364

लमजुङ-लकडाउनअघि हिमाली जिल्ला मनाङ पुगेका चारजना विदेशी पर्यटकहरुलाई उद्धार गरी पोखरा ल्याइएको सम्वन्धित देशको राजदूतावासको समन्वयमा जिल्ला प्रशासन कार्यालय मनाङले मंगलबार पोखरा पठाएको हो ।
मनाङका प्रमूख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार तीनजना अर्जेन्टिना र एकजना स्पेनका नागरिकहरुलाई पोखरा पठाइएको हो । पौडेलका अनुसार सम्वन्धित देशका राजदूतावासले नेपालका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकहरुलाई पोखरा जम्मा हुन आग्रह गरेसँगै उनिहरु प्रशासनको सम्पर्कमा आएका हुन् ।

अन्नपूर्ण पदमार्गमा आएका ति पर्यटकहरु देशमा लकडाउन जारी भएसँगै मनाङको पिसाङमा पुगेर रोकिएका थिए । लकडाउन लम्विएसँगै उनीहरुलाई सम्वन्धित राजदूतावासले नै आफ्नो देश फर्काउन पहल गरेको प्रजिअ पौडेलको भनाई छ । प्रशासनको सम्पर्कमा आएसँगै उनीहरुलाई एउटा जिपमा पोखरा पठाइएको प्रजिअ पौडेलले जानकारी दिए ।
चारजनाको उद्धारसँगै मनाङमा अझै पाँचजना विदेशी पर्यटक रोकिएका छन् । मनाङ प्रशासनका अनुसार लकडाउन अघि घुम्न तथा हिमाल आरोहण गर्न आएका फ्रान्स, इटाली र रसियन पर्यटक मनाङमा रोकिएका हुन् । रोकिएका पर्यटक मध्ये फ्रान्सका दुईजना, इटालीका दुईजना र रसियाका एकजना रहेका छन् ।
मनाङ प्रशासनका अनुसार फ्रान्सका दुईजना ङिस्याङ गाउँपालिका अन्तर्गत माथिल्लो मनाङमा रहेका छन् भने रसियन नागरिक ङिस्याङ–१, पिसाङमा रहेका छन् । यस्तै इटालीका दुईजना भने नासोङ गाउँपालिका अन्तर्गत तालमा रहेको मनाङ प्रशासनले जनाएको छ ।
कोरोना भाईरस संक्रमण जोखिमसँगै हाल आफ्नो देश फर्कने वातावरण नभएको तर मनाङनै सुरक्षित भएको भन्दै उनिहरु मनाङमा बस्दै आएका छन् । कोभिड–१९ को रोकथामसँगै लकडाउन खुल्ला भएपछि विभिन्न हिमाल आरोहण र पदयात्रा गर्ने उनिहरुको योजना रहेको मनाङका प्रजिअ पौडेलले बताए ।
लकडाउन अघि मनाङ पुगेका पर्यटक रोकिएपनि कोरोना भाईरसको उच्च जोखिमसँगै जारी लकडाउनका कारण विश्व प्रसिद्ध अन्नपुर्ण पदमार्ग सुनसान भएको छ । पदयात्राको लागि उपयुक्त मौषम भएपनि विश्वप्रसिद्ध कोभिड–१९ को प्रभावसँगै जारी लकडाउनका कारण अन्नपूर्ण पदमार्ग सुनसान भएको हो ।
लमजुङको सदरमुकाम बेसीशहरबाट शुरुहुने अन्नपुर्ण पदमार्गमा यो सिजनमा पर्यटकहरुको आगमन उत्साहजनक हुने गर्दथ्यो । तर हाल पर्यटक आगमन पुर्ण रुपमा ठप्प भएको छ । पर्यटक आगमनको मुख्य सिजन भएपनि कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारलेनै विभिन्न देशका पर्यटकहरु आगमनमा रोक लगाएको हो ।
अन्नपूर्ण पदमार्गमा सेप्टेम्वर देखि नोभेम्वर सम्म र फेव्रुअरीदेखि अप्रिलसम्म पदयात्राको पिक सिजनको रुपमा लिइन्छ । पर्यटकिय सिजनमा काठमाण्डौको ठमेल जस्तै हुने सदरमुकाम बेसीशहर देखि मनाङसम्मका होटल क्षेत्र अहिले सुनसान बनेको हो । पदमार्ग अन्तर्गतका पर्यटकिय होटलहरुमा पर्यटकको आगमन नभएपछि व्यवसाय पनि ठप्प भएको छ ।

सन्देश पौडेल