सागर परियार
बिहिवार, जेठ ८, २०७७
374

जुम्ला -सिमामा अलपत्र हजारौं नेपाली कामदारमध्ये कर्णाली प्रदेशका १२ सय जना नागरिक कर्णाली भित्रिएका छन् । भारतका विभिन्न स्थानबाट मजदुरी गरेर फर्किंदै गरेका १२ सय कर्णाली नागरिक महिनौदेखि सिमामा अलपत्र भिए ।
गत साता प्रदेश सरकारले सिमामा अलपत्र कर्णालीका नागरिकलाई उद्धार गर्ने निर्णय गरे अनुसार बुधबार मात्रै एक हजार २ सय नागरिक कर्णालीमा भित्रिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।

मन्त्री भण्डारीका अनुसार बुधबार राती मात्रै १२ सयजना कर्णाली प्रदेशको मुख्य नाका बबईमा आईपुगेका हुन् । बुधबार राती बबईमा आइपुगेका मध्ये दैलेखका पाँच सय जना, सुर्खेतका तीन सय २०, सल्यानका दुई सय ६६, जाजरकोटका ७७ र कालिकोट जिल्लाका ४४ जना गरी एक हजार दुई जना कर्णालीमा भित्रिएका हुन् ।
पछिल्लो समय कर्णालीमा भारतबाट ठूलो संख्यामा नागरिक भित्रिएका छन् । मन्त्री भण्डारीले भने, “कर्णालीमा आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय लगाएत सम्बद्ध पक्षलाई निर्देशन दिइसकेका छौं । आबश्यक सहयोगका लागि राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्व, युवालगाएत समस्त व्यक्तित्वहरूलाई अपिल गरिएको छ ।” अनिवार्य रुपमा क्वारेन्टाईनमा बसी आफू बचेर अरुलाई बचाउन समेत अनुरोध गरिएको छ ।
भारतबाट एकैपटक ठूलो संख्यामा नागरिकहरु त्यहाँ पुगेपछि कर्णाली प्रदेश सरकारले तत्काल आरडिटी परिक्षणका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबईमा खटाइसकेको छ ।
तत्काल सात सय किट सहित १६ जना आरडिटी जाँचका लागि कर्मचारी त्यहाँ परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आरडिटीको रिपोर्ट अनुसार सम्बन्धीत जिल्लामा नागरिक पठाईने छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका भारतबाट २० हजार नागरिक भित्रिने अनुमान गरेको छ । उद्धार गरिएका नागरिक क्वारेन्टाईन बसेर अन्य नागरिकले लकडाउनको पालाना गरेर कर्णालीलाई कोरोना संकटबाट बचाउन समेत कर्णाली बासीमा प्रदेश सरकारले अपिल गरेको छ ।