कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
213

लमजुङ- चिसो बढेपछि बेंसी झरेका भेडीगोठ पुनःजिल्लाको उच्च हिमाली क्षेत्र तथा लेक चढ्न थालेका छन् । गर्मी मौसम सुरु भएदेखि यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आआफ्ना भेडाका बथान लैजान थालेका हुन् ।
बेंसी झरेका जिल्लाका अधिकांश भेडीगोठ लकेतिर पुगिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेशाका रुपमा भेडीगोठलाई हेरिन्छ । बेंसीबाट एक महिनाअघि बेंसीबाट लेकतिर हिँडेको र यतिबेला लेक नजिक पुग्न लागेको भेडी गोठाला तथा भेडापालक आन्द्रे गुरुङले जानकारी दिए ।

उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म पुग्ने उहाँको भनाइ छ । घलेगाउँको भेडीगोठ सो छाडा छल्न गाउँ आए पनि त्यहाँबाट अहिले लेकतिर भेडाबाख्रा चरणका लागि लेक उक्लिको भेडीगोठका गोठाला तथा घले गाउँका स्थानीय केशबहादुर गुरुङले बताए ।
उनले भने, “घलेगाउँको दुई वटा भेडीगोठ छन् । करिब एक हजार २०० वटा भेडाबाख्रा रहेको छ ।” लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुगेको उनको भनाइ छ । पसगाउँको भेडीगोठ त्यस्तै लमजुङ कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । त्यहाँको भेडीगोठ मनास्लु हिमालको फेदमा पुगेको भेडीगोठला कमल अधिकारीले बताए ।
उनले भने, “भेडीगोठमा करिब ३०० वटा भेडा रहेको छ । बेंसी झरेर गत फागुन महिनाबाट सो स्थान तर्फ नै भेडीगोठ उकालेको उनको भनाइ छ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुगेको छ ।” लेक पुगेका भेडीगोठ चिसो छलेर यतिबेला सबै भेडीगोठ हिमालको काख तथा लेकतिर पुगिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा रुपेश श्रेष्ठले बताए ।
उनका अनुसार जिल्लामा सानो ठूलो गरेर करिब २०० वटा घुम्ती भेडीगोठ रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सो केन्द्रका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । ती भेडीगोठमा झण्डै ३० हजार भेडाबाख्रा रहेको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । भेडीगोठ छ महिना लेकमा र छ महिना बेंसीमा रहन्छ ।