नीरज पिठाकोटे
बिहिवार, जेठ ८, २०७७
338

वीरगन्ज-कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले समस्यै–समस्यामा परेका पर्साका किसानलाई डिजलको पनि अभाव हुँदा चिन्तित बनेका छन् । लकडाउनको समयमा खेतमा काम गर्न जान नपाउने समस्या मात्रै होइन, खेत खनजोत गर्ने ट्रयाक्टरमा आवश्यक इन्धनसमेत नपाउँदा खेत बाँझै रहने चिन्ता किसानलाई परेको छ ।
लकडाउनमा अतिआवश्यक वस्तुमा पर्ने इन्धनको सहज आपूर्ति नहुँदा पर्साका किसानले पेट्रोल पम्पबाट इन्धन नपाएका हुन् । आपूर्ति सहज भएको दावी सरकारको रहे पनि किसानलाई भने इन्धनको सहज उपलब्ध नहुँदा खेत जोत्न नपाएर खेत नै बाँझो रहने चिन्ताले सताएको छ । पर्साका पेट्रोल पम्पहरूमा डिजेलको अभाव हुँदा किसानले ट्रयाक्टरमा हाल्ने डिजल नपाउँदा खेत जोत्न नपाएका हुन् । खेतमा धानको व्याड राख्ने समय सकिन लागेको अवस्थामा अहिलेसम्म डिजल अभावले खेत जोत्न नपाएको पर्साको बहुदरामाई–१ का विजय यादवले दुखेसो गरे । इन्धनको सहज आपूर्ति हुन नसक्नुको मुख्य कारण चाहिँ लकडाउन र निषेधाज्ञा नै रहेको इन्धन ढुवानी व्यवसायी र नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन् ।

सरकारले गरेको लकडाउनले बैंकहरू बन्द भएको र पेट्रोलियम व्यवसायीहरूले इन्धन खरिदका लागि बैंकमा भौचर हाल्न नपाएर पनि डिजल आपूर्तिमा अवरोध आएको हो । लकडाउनका कारणले हप्तामा दुईपटक मात्रै भारतको रक्सोल स्थित भारतीय आयल निगमको डिपोबाट इन्धन लोड हुने र त्यसमा पनि लकडाउनले व्यवसायीलाई बैंकमा जाने सहज वातावरण नहुँदा भौचर भर्न नपाउँदा डिजल आयात कम भएको व्यवसायीहरूले बताएका छन् । इडियन आयल कर्पोरेसनमा पनि कोरोना संक्रमण फैलिने डरले कर्मचारी कटौती गरी एकचौथाई कर्मचारीले मात्रै काम गरिरहेकाले लोडिङ गर्न नपाउँदा नेपालमा इन्धन कम आएको पेट्रोलियम डिलर्स एशोसिएसन बाराका अध्यक्ष सुरेन्द्र श्रीवास्तवले बताए ।
नेपाल आयल निगम वीरगन्जका प्रमुख रामकुमार न्यौपानेले इन्धन आयातमा कुनै अवरोध नभएको तर, लकडाउनका कारण बैंकहरू बन्द भएर भौचर जम्मा गर्न नपाएकाले डिजलहरू कम आएको बताए ।
भौचर आएकाहरूको जति सबै डिजल आयात भएको बताउँदै प्रमुख न्यौपानेले सामान्य अवस्थामा एकपटकमा दुईसय ट्यांकर लोड भए पनि अहिले ९३ वटादेखि १२० वटा ट्यांकरमात्रै लोड हुने गरेको प्रमुख न्यौपानेको भनाई छ । वीरगन्जमा धेरै कोरोना संक्रमित भेटिएपछि रक्सोल स्थित भारतीय आयल निगमको डिपोमा पनि सतर्कता अपनाउदै सीमित कर्मचारीहरू राखेर काम गर्दा केही समस्या भएको आयल निगम वीरगन्जका प्रमुख न्यौपानेले बताए । पर्सा र बारामा मात्रै दैनिक ३ सय केएलदेखि ४ सय केएल खपत हुने गरेकोमा अहिले हप्तामा २ सयदेखि ३ सय केएल मात्रै आउने गरेको छ ।