कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७
387

स्याङ्जाको वालिङ नगरपालिकाका बंगुरपालक भीमप्रसाद लुईंटेल आफ्नो फर्मभरी बढ्दै गरेका बंगुर र तिनीहरुका पाठापाठी हेर्दै चिन्तित भएका छन् । फस्टाउँदो व्यवसायमा कोरोना संक्रमणसँगै सरकारले गरेको लकडाउनको घोषणापछि देखिएको व्यापारिक गतिविधि ठप्प भएपछि उनी चिन्तित भएका हुन् ।
झण्डै दुई महिनादेखि जारी लकडाउनका कारण लाखौं रुपैयाँ ब्यापार घाटा भएको उनले बताए । ६ वर्षअघि वालिङ नगरपालिका ९ पिपलटारीमा इन्द्रेणी बंगुरपालन फार्म सुरु गरेका लुईंटेलको मासिक करिब १० लाख भन्दा बढीको कारोबार गर्ने कोरोनाका कारण व्यवसायमा आएको मन्दीसँगै बंगुरलाई आवश्यकता अनुरुपको दाना खुवाउन नपाएको बताए ।

फार्ममा साना ठूलागरी ६ सय बढि बंगुर रहेको उनले बताए । २ सय ५० वटा बंगुरले मासिक २ देखि ३ सय भन्दा बढी पठापाठी जन्माउँछन् । लकडाउनसँगै फार्ममा ३ सय ५० भन्दा बढी बेच्न तयार भएका पठापाठी थन्क्याएर राख्नु परेको लुईंटेलले बताए ।
“बिक्री गर्न समय पुगेका पाठापाठी बेच्न नपाउँदा आम्दानीको बाटो बन्द भएको छ” उनले भने, “दानाका लागि मासिक ३ लाख ५० हजार, कर्मचारीका लागि मासिक १ लाख ५० हजार र बैंकको साँवा र व्याज गरी मासिक ३ लाख रुपैयाँको जोहो गर्न कठिन भएको छ ।”
दाना उत्पादक कम्पनीले नगद बिना दाना नदिने उनले बताए । फार्ममा १० स्थानीयले रोजगारी पाएका छन् । ७ वर्षे वैदेशिक रोजगारको अनुभवपछि स्वदेश फर्किएर उनले बंगुरपालन गर्दै आएका छन् । दश वर्षका लागि १८ रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेका उनले फार्ममा बंगुरका लागि झण्डै २ सय कोठा निर्माण गरेका छन् ।
६ वर्षअघि २७ वटा पाठापाठीसहित ४ लाखबाट सुरु गरेको सो फार्ममा अहिले ३ सय माउ (ठूला) र २ सय बंगुरका पाठापाठी छन् । हालसम्म २ करोड भन्दा बढीको लगानी गरेको उनले बताए । फर्ममा ल्याण्ड्रेस र ड्यूरोक जातका बंगुरपालन गरिएको छ । फार्ममा पाठापाठी किन्नका लागि स्याङ्जा लगायत पाल्पा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु आउने गरेको उनले बताए । एक महिना पालन गरिएको पाठापाठी ५ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

प्रकाश डोटेल